अरुणा भट्टराई


ADVERTISEMENT


काठमाडौं – शुक्रवार बिहान करिव १० बजे झण्डै एक सय जना युवाहरुको समुह काठमाडौंबाट काभ्रेपलाञ्चोक जिल्लाको दुर्गम क्षेत्र चौरी देउराली गाउँपालिकाको नाग्रेतर्फ प्रस्थान गर्नुअघि युवा समाजसेवी विजय खड्काले उनीहरुको यात्राको उदेश्यका बारेमा छोटकरीमा जानकारी गराए ।


ADVERTISEMENT

# # #


यद्यपि, एक दर्जनभन्दा बढी फोरह्विल सवारी साधनमा यात्रा गर्दै अघि बढ्न लागेको स्वयंसेवक युवाहरुको उक्त समुहका अधिकांश व्यक्तिहरु गन्तब्यका बारेमा अनभिज्ञ थिए । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका अन्तर्गत पर्ने नाग्रे पुग्नका लागि अधिकांश स्वयंसेवकहरु उत्साहित थिए ।

स्वयंसेवकको रुपमा सहभागिता जनाउनेहरुमा सञ्चारकर्मीदेखि कोरियोग्राफरसम्म, मोडलदेखि गायकसम्म तथा समाजसेवीदेखि चिकित्सकसम्म थिए । उनीहरु उत्साहित हुने एउटा विशेष कारण पनि थियो  ‘देशको लागि दश लाख घण्टा श्रमदान, हाम्रो अभियान’ भन्ने नारासहितको यो अभियान ।

लोकप्रिय गायक निर्णय श्रेष्ठको अगुवाइ युवा समाजसेवी विजय खड्काको सक्रियतामा शनिवार काभ्रेको नाग्रेस्थित रजवास गाउँमा आयोजना हुने सामाजिक अभियान ‘मिलियन आवर च्यालेञ्ज स् देशका लागि एक दिन’ मा श्रमदानका लागि युवा स्वयंसेवकहरु त्यहाँ पुगिरहेका थिए ।काठमाडौंबाट दोलालघाट हुँदै करिव एक सय किलोमिटरको विकट पहाडी मार्गको यात्रा गर्दै युवा स्वयंसेवकहरुको समुह शुक्रवार साँझ करिव सात बजे नाग्रे पुगेको थियो ।

‘मिलियन आवर च्यालेञ्ज’ कार्यक्रमका लागि शुक्रवार राति नाग्रे पुगेका युवा–स्वयंसेवकहरुमा सञ्चारकर्मी, कलाकार, शिक्षक, समाजसेवी, योग गुरु, गायक, गायिका, मोडलदेखि राजनीतिककर्मीहरु समेत थिए । शनिवार बिहान योगा तथा लाइफस्टाइल कोच डा चिन्तामणि गौतमले सहभागि सबै स्वयं सेवकहरुलाई करिव एक घण्टाको योग प्रशिक्षण दिए ।

नाग्रेको डाँडामा धान काटिएको खेतमा खुला आकाश मुनि डा।चिन्तामणि गौतमले दिनु भएको योग प्रशिक्षणले सहभागी स्वयंसेवकहरु उत्साहपूर्ण रुपमा सहभागी भए ।

योग प्रशिक्षण पश्चात पश्चात मिलियन आवर च्यालेञ्ज अन्तर्गत ‘वन डे फर नेशन’ का लागि स्वयंसेवकहरु आफूलाई छुट्याइएको क्षेत्रमा खटिए ।कार्यक्रमका नेतृत्व लिएका समाजसेवी गायक निर्णय श्रेष्ठ तथा कार्यक्रमका संयोजक विजय खड्काले काठमाडौंबाट गएका स्वयंसेवकहरुलाई विभिन्न १३ वटा समुहमा विभाजन गरे ।

ती १३ वटा समुहका लागि विभिन्न चार वटा काम सुम्पिइयो । प्रत्येक तीन–तीन समुहलाई पुनस् एक समुहमा राख्दै ती चार वटा काम छुट्याइएको थियो । शनिवार बिहान करिव ११ नबज्दै चार वटै समुह नाग्रेको राजबाश गाउँका कुना–कुनासम्म पुगिसेको थियो ।

रातो रंगको ‘मिलियन आवर च्यालेञ्ज’ अंकिट टिसर्ट लगाएका स्वयंसेवक युवा–युवतीहरुलाई गायक श्रेष्ठ तथा संयोजक खड्काले चार दिशातर्फ पठाए ।

पहिलो समुह स्थानिय चौतारोको सरसफाइ गर्न खटियो, जसमा समता स्कूलका प्रधानाध्यापक तथा गायक अजय अधिकारी सुशिल सहित जनक तामाङ, अनुशा थापा, सागर कटवाल, भावना तामाङ, असिम कुमार लम्सालसहितका व्यक्तिहरु सहभागि भए । उनीहरुले करिव दुई घण्टा लगाएर उक्त चौतारो चिटिक्क बनाए ।

गायक निर्णय श्रेष्ठकै अगुवाईमा अर्को समुह स्थानिय तामाखानी प्राथमिक विद्यालय पुगेर सरसफाइमा खटियो । टेलिभजिनकर्मी अनिला श्रेष्ठ, योग गुरु डा।चिन्तामणि गौतमसहितका स्वयंसेवकहरुको समुहले उक्त विद्यालयको परिसरमा उम्रिएका घाँसपात मात्र सफा गरेनन्, कक्षा कोठालाई पनि सरसफाइ गरेर रंगरोगन समेत गरेर चिटिक्क बनाए । यसका लागि काठमाडौंबाटै रंग तथा रंग लगाउने सामग्रीहरु लगिएको थियो ।

फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर, सञ्चारकर्मी अरुणा भट्टराई, बाल कलाकार कुशाग्र भट्टराई, व्यूटिसियन सीमा श्रेष्ठ, मोडल धीरज श्रेष्ठसहितको समुहले स्थानिय नदीमा निर्माण भएको झोलुंगे पुल तथा आसपासका क्षेत्रको सरसफाइ गरे । त्यस्तै, फोटो पत्रकार हरि गोपाल श्रेष्ठ, पद्यमसागर कक्षपति, सञ्चारकर्मी कृष्ण भट्टराई, सिर्जना दुवाल, भिडियो निर्देशक आराध्या लक्ष्मी खड्गी, छायांकार सोहन मानन्धर आदि सहभागी समुहले भने नाग्रेमै निर्माणाधिन अवस्थामा रहेको डे केयर सेन्टरको परिसर सरसफाइ गरेका थिए ।

‘देशका लागि महत्वपूर्ण एक घण्टा देशका लागि दिन सकियो भने समाज आफैं बन्छ’ भन्ने उदेश्यले यो दश लाख घण्टाको च्यालेञ्ज अभियान प्रारम्भ गरिएको हो, यो अभियानका नेतृत्वकर्ता मध्येका एक गायक निर्णय श्रेष्ठ भन्छन्–‘हामी झण्डै सय जनाको समुहले काभ्रेको यो दुर्गम गाउँदा केही घण्टा श्रमदान गर्दा केही न केही परिवर्तनको अनूभूति स्थानीयहरुले समेत गरेका छन् ।’

यो अभियानका नेतृत्वकर्ता विजय खड्का भन्छन्– ‘काभ्रेको नाग्रे राजधानीबाट केही घण्टाको दुरीमा भए पनि यो ठाउँ बत्ति मुनिको अँध्यारो जस्तो छ । विद्यालय छ, विद्यार्थी छैनन् । डे केयर सेन्टर छ, भौतिक पूर्वाधार छैनन् । यो गाउँमा विकास गर्नु पर्ने धेरै कुराहरु छन् । मिलियन आवर च्यालेञ्ज कार्यक्रमले त्यसको थालनी गरेको छ, यसलाई हामी भविष्यसम्म पनि निरन्तरता दिइरहने छौं ।’

विभिन्न समुहमा विभाजन भएका स्वयंसेवकहरु दिउँसो दुई नबज्दै आफूले जिम्मा लिएको कार्य सम्पन्न गरेर पुनस् एकै ठाउँमा भेला भए ।स्वयंसेवकहरु भेला भैरहेकै स्थानमा सम्पूर्ण स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गर्न केही दिनअघि मात्रै नियुक्त भएका बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा नाग्रेकै स्थानिय वासिन्दा माननीय रत्न प्रसाद ढकाल आइपुगे ।

‘हाम्रो गाउँमा आएर विकास, निर्माण, सरसफाइ लगायतका कार्यमा सामाजिक अभियान सञ्चालन गरिदिनु भएकोमा हार्दिक धन्यवाद गर्दछु, मन्त्री ढकालले भने–‘काठमाडौंबाट कष्टकर यात्रा गरेर यो दुर्गम गाउँसम्म आइपुग्नु भएका यहाँहरु सबैलाई हार्दिक धन्यवाद ।’

कार्यक्रममा स्थानिय वासिन्दाको समेत उल्लेख्य सहभागिता रहेको थियो । ‘यो अभियान सहभागिता जनाउने मौका दिनु भएकोमा समाजसेवी गायक निर्णय श्रेष्ठलाई हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु, समता स्कूलका प्रधानाध्यापक अजय अधिकारी सुशिलको भनाइ छ– ‘काभ्रेको चौरी देउराली गाउँपालिकाको राजवासमा आयोजना गरिएको मिलियन आवर च्यालेञ्ज अभियान केही घण्टा योगदान दिएर हामीले हाम्रो ठाउँ आफैं बनाउन सक्छौं भन्ने एउटा सांकेतिक सुरुवात मात्र हो । यो अभियानलाई देशव्यापी बनाउन सकियो भने हाम्रो देश अझ सुन्दर बन्ने छ ।’

अधिकारीका अनुसार शनिवारको अभियान अन्तर्गत चौतारा, झोलुंगे पूल, सडक, विद्यालय, डे केयर सेन्टर आदि ठाउँमा काठमाडौंबाट गएको समुहले गरेको योगदान आफैंमा अर्थपूर्ण छ । ‘समाजसेवी विजय खड्काले हामीलाई उहाँको गाउँसम्म निमन्त्रण गरेर ठूलो गुण लगाउनु भएको छ, अधिकारीको भनाइ छ ।

यो अभियानलाई सफल बनाउन नाग्रेका स्थानिय वासिन्दा सुमन लामाको विशेष योगदान रहनुका साथै दिनेश लामा (वडा अध्यक्ष), ब्रजेश लामा, अर्पण उत्कर्ष, टेकराज मोक्तान तथा दिल बहादुर लामा (अशोक) को उल्लेखनिय योगदान रहेको आयोजक संस्थाले जनाएको छ ।

अभियानमा सेफ्स एसोशिएसन अफ नेपालले समेत सहकार्य गरेको छ । यो संस्थाले निस्शुल्क रुपमा यो अभियानमा आवद्ध स्वयंसेवक तथा पदाधिकारीहरुका लागि खानपिन व्यवस्था गरिदिएको थियो । यसका साथै यो अभियानमा एड्भान्चर पार्टनरको रुपमा एड्भान्चर स्टेप्स नेपाल (सबिन महर्जन र अमित कर्माचार्य), हस्पिटालिटी पार्टनरको रुपमा ठमेलमा रहेको होटल ओएसिस, फूड पार्टनरको रुपमा सेफ्स एसोशिसन अफ नेपाल तथा एजुकेशन पार्टनरको रुपमा निर्णय एनएसके टुर फर एजुकेशन रहेका थिए भने रमेश गौतमले यातायात व्यवस्थाको संयोजन गरेका थिए ।

शुक्रवार साँझ पुग्दा रातो अबिर लगाएर स्वागत पाएका स्वयंसेवकहरुलाई स्थानीयहरुले शनिवार दिउँसो भने सयपत्रीको माला नै लगाएर विदाइ गरेका थिए । कलाकर्मी डटकमबाट ।