बलेवा – मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि । स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ । धार्मिक परम्पराअनुसार यो पूर्णिमाका दिन बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यवती मन्दिर साग्दीमा रातको समयमा चिच्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यता छ ।


ADVERTISEMENT


दुई वर्षयता कोरोना महामारीका कारण साग्दी पुग्न नसकेका गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाका भक्तजन यो वर्ष बागलुङको बरेङ पुगेका थिए । आइतबार बिहानै भक्तालुले चिच्याएर वर मागे । शनिबार दिउँसोदेखि साग्दीमा जम्मा भएका भक्तजनले वर मागेपछि मन्दिरमा पूजाआइतबारा र बलि दिएका थिए । दुई वर्ष पहिला पूर्णिमाको दिनमात्रै १० हजारभन्दा बढी भक्तालुले चिच्याएर वर मागेका थिए ।


ADVERTISEMENT

# # #


तर यो वर्ष सङ्ख्या कम रहेको वडाध्यक्ष दुर्गा कार्की थापा क्षेत्रीले बताइन् । पूजाको अवसर पारेर स्थानीय क्लबहरुले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने गरेका छन् । “शनिबार राति आएका भक्तजनले चिच्याएर वर मागे, आइतबार साँझसम्म पूजा र बलिको कार्यक्रम चलिरहेको छ”, क्षेत्रीले भनिन्, “अबेरसम्म एक हजारभन्दा बढी भक्तजन पूजाका लागि लाइनमा छन् ।”

विशेषगरी पूर्णिमाको रात प्रतिपदाको बिहान उज्यालो हुनुपूर्व वर माग्नुपर्ने मान्यता रहेको भए पनि मङ्सिर र पुसभर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यताले सत्यवतीमा भक्तजन पुग्ने गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् । सत्यवतीमा पूजाका लागि गाउँपालिकाले स्वयंसेवक परिचालन गरेको थियो । पूर्णिमामा भीड बढी हुने भएकाले गाउँपालिकाले व्यवस्थापन गर्ने गरेको हो ।

बरेङको सत्यवतीमा बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, म्याग्दीलगायत जिल्लाबाट भक्तालु पुग्ने गरेका छन् । परापूर्वकालमा महाशक्ति सत्यवती बराजुले चिच्याएर वर माग्दा दिनको उज्यालोमा मागेको वर अरू कसैले सुन्ने र बराजुले वर दिन नसक्ने मान्यतानुसार हरेक वर्षको दिवाली पूर्णिमाको दिन भक्तालु त्यहाँ पुगेर वर माग्ने गरेको बरेङका स्थानीय ज्येष्ठ नागरिकले बताए । सत्यवतीमा पुगेर रातमा मागेको वर पूरा हुने विश्वासले भक्तालुहरु त्यहाँ पुग्ने गरेका छन् ।

सत्यवती बराजु बहिरा रहेकाले चिच्याएर वर माग्नुपर्ने र वर मागेको अरू कसैले देख्न नहुने मान्यता छ । पहिले हप्तौँ लामो बाटो हिँडेर सत्यवती पुग्ने गरेका भक्तालु यसवर्ष भने सवारी साधनको प्रयोग गरेर त्यहाँ पुग्ने गरेका छन् । रातिको समयमा वर माग्नुपर्ने भएकाले अघिल्लो दिन त्यहाँ पुग्नुपर्ने र पूर्णिमाको रात वर माग्नका लागि रातमा लाइन बस्नुपर्ने भएकाले भक्तालुलाई समस्या हुने गरेको सवारी चालक हर्कबहादुर तामाङ बताउँछन् ।

पहिलेजस्तो यातायातको समस्या नभए पनि खाना बस्न समस्या हुने गरेको त्यहाँ पुगेका भक्तालुले बताउने गरेका छन् । हाल सत्यवती जानका लागि बागलुङ बजार हुँदै दुदिलाभाटी बाटाकाचौर, बागलुङ–कुश्मीशेरा–बरेङ हुँदै बाटाकाचौरसम्म कच्ची सडक सञ्चालनमा रहेकाले समस्या नरहेको शर्माले बताए ।

हाल मन्दिर आसपासमा निर्माण गरिएका दुई वटा सामुदायिक भवनबाहेक बस्नका लागि अन्य पूर्वाधार नभएको स्थानीयवासी बताउँछन् । गाउँपालिकाले रणनीतिक योजना नै बनाएर सडक सञ्जालसँग सत्यवतीलाई जोडेको छ ।

आदिकालमा सत्यवती बराजुका सात बहिनीमध्ये एक बहिनी बागलुङमा बसेको र उनले रातको समय मागेर भक्तजनलाई वर दिने गरेको किंवदन्तीका आधारमा भक्तालु त्यहाँ जाने गरेको बूढापाकाहरु बताउँछन् । पाल्पामा रहेको सत्यवती बराजु र गुल्मीमा रहेको मालिका माईको भने कार्तिक शुक्ल पूर्णिमामा पनि दर्शन गर्न सकिने मान्यता छ । रासस