काँकडभिट्टा– झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ ।


ADVERTISEMENT


झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा हात्ती प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका छन् ।हात्तीले मान्छे मारेको र भौतिक सम्पत्तिमा क्षति पुर्याइरहेको आधारमा विश्लेषण गर्दा झापाका पाँचवटा संघीय र १० वटा प्रादेशिक निर्वाचन क्षेत्रमध्ये तीनवटा संघीय र सातवटा प्रादेशिक एकाइ हात्ती समस्याको चपेटामा छन् ।


ADVERTISEMENT

# # #


हात्ती समस्याबाट झापा क्षेत्र नं १, २ र ३ पूर्णरुपमा प्रभावित छन् । यस क्षेत्रमा एकलाख नौहजार ६७६ मतदाता बसोबास गर्दै आएका छन् । झापा–१ मा मेचीनगरको पूरै भाग, भद्रपुरको ९ र १० नं वडा र बुद्धशान्तिको ४, ५, ६ र ७ नं वडा पर्दछन् । हात्तीपीडित भनी परिचित बाहुनडाँगी समेत हाल मेचीनगरमै पर्छ । जिल्ला वन कार्यालयको तथ्यांक हेर्ने हो भने २०६९ सालयता हात्ती आक्रमणबाट झापा–१ मा ९ जनाको ज्यान गइसकेको छ ।

मृत्यु हुनेमा शान्तिनगरका अशोक तामाङ, लालबहादुर रानामगर, गोपीलाल विक र धनबहादुर राई रहेका छन् भने बाहुनडाँगीका असली राई, लक्ष्मी रम्तेल सार्की र मनोहरि ढुंगेल छन् । यसैगरी, धाइजनका शुक्र कुँवर र मेचीनगरका डम्बरबहादुर कुँवरको पनि हात्तीको आक्रमणमा मृत्यु भइसकेको छ । पछिल्लो अध्ययनले झापामा सबैभन्दा बढी हात्तीपीडित क्षेत्रको रुपमा झापा–३ देखिएको छ ।

यस क्षेत्रका भद्रपुर, हल्दिबारी, बाह्रदसी र कचन कबल हात्ती समस्याको चर्को पीडा व्यहोरिरहेका छन् । यहाँ एकलाख १४ हजार ५८६ मतदाताको बसोबास रहेको छ । यस क्षेत्रमा २०६९ यता १३ जना मानिस हात्तीबाट मारिएको जिल्ला बन कार्यालयको तथ्यांकले देखाउँछ ।

मृत्यु हुनेमा पृथ्वीनगरका आशामाया राई, दुर्गाप्रसाद पाण्डे, गुनमाया बस्नेत, ज्ञानबहादुर चाम्लिङ, मङ्गलवीर तामाङ र देवीकुमार राई रहेका छन् भने भद्रपुरका बालमाया लिम्बू, शर्मिला लिम्बू र दुर्गा कटुवाल रहेका छन् । यसैगरी, कचन कबलका मनराज केरुङ, हल्दिबारीका रतिलाल मेचे, बनियानीका भवानीप्रसाद घिमिरे र बालुबाडीका बजारी राजवंशीको हात्तीको आक्रमणमा मृत्यु भएको हो ।

झापा–२ मा एकलाख १४ हजार तीन मतदाताको बसोबास छ । तीमध्ये दुई तिहाइ अर्थात् ७५ हजारभन्दा केही बढी मतदाता हात्तीको समस्या व्यहोरिरहेका छन् । २०६९ सालयता यस क्षेत्रमा हात्तीको आक्रमणमा परी आठजनाको ज्यान गइसकेको छ ।

मृत्यु हुनेमा बुधबारेका माया लिम्बू, गणेशबहादुर भुसाल, लक्ष्मीप्रसाद पौडेल र कृष्णमाया मगर रहेका छन् भने अर्जुनधाराका रामचन्द्र बोगटी, गरामनीका जयनारायण अधिकारी, गरामनीकै दिलबहादुर मगर र खुदुनाबारीका सावित्रा ओझाको पनि हात्तीकै आक्रमणमा मृत्यु भएको छ ।

झापा–४ मा दुईजना (रनमाया मगर र झुमादेवी भट्टराई) र झापा–५ मा एकजना धनमाया कार्की (दमक)को हात्तीको आक्रमणमा मृत्यु भएको वन कार्यालयले जनाएको छ ।

झापा–४ र ५ को केही उत्तरी भेगमा कहिलेकाहीँ हात्तीले दुःख दिने गरेपनि अन्य क्षेत्रको तुलनामा त्यहाँ पीडा न्यून नै छ । झापाको आधा भूगोल नै हात्ती समस्याबाट लपेटिएको अवस्थामा आम मतदाताको मुख्य सरोकार हात्ती नियन्त्रण हुनु र दलहरुले यसलाई चुनावी मुद्दा बनाउनु स्वाभाविक भएको मानव—हात्ती द्वन्द्व न्यूनीकरणमा लामो समयदेखि काम गर्दै आएका बाहुनडाँगीस्थित प्रकृति संरक्षण समाजका अध्यक्ष नीरज घिमिरे बताउँछन् ।

“राष्ट्रिय सरोकारका चुनावी मुद्दा अरु नै छन्, तर झापाको आधा भूगोलको स्थानीय मुख्य सरोकारको मुद्दा ‘हात्ती नियन्त्रण’ नै हो”, साविक बाहुनडाँगी गाउँ विकास समितिका पूर्व अध्यक्ष निलकण्ठ तिवारी समेत बताउँछन्।

पूर्व जनप्रतिनिधि तिवारीले हात्ती समस्यालाई चुनावी नारा मात्रै नबनाउन र दिगो समाधानको खोजीमा लाग्न दलहरुलाई आग्रह गरेका छन् । झापा–१ मा नेपाली काँग्रेसका नरेन्द्रविक्रम नेम्वाङ र नेकपा (एमाले)का रविन कोइरालाले यसअघिको चुनावमा सांसद बन्न हात्ती नियन्त्रणको मुद्दालाई चुनावी नारा बनाएका थिए ।

हाल प्रतिनिधिसभामा उम्मेदवार बनेका वाम गठबन्धनका राम कार्की र नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा दुवैले हात्ती नियन्त्रणको विषयलाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका छन् ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार रहेको मुलुककै चर्चित निर्वाचन क्षेत्र झापा–३ मा समेत राष्ट्रिय मुद्दालाई हात्ती नियन्त्रणको स्थानीय मुद्दाले चुनावमा स्थान पाएको छ ।

पृथ्वीनगर, भद्रपुर, हल्दिबारी र कचन कबलजस्ता क्षेत्रमा लगातार हात्तीले जनधनको ठूलो क्षति पुर्याइरहेको छ । “हात्ती नियन्त्रणको कुरा नगरे भोट नपाइने बुझेरै दलहरुले यसलाई चुनावी मुद्दा बनाउन थालेका हुन्”– भद्रपुरस्थित नागरिक एफएममा कार्यरत पत्रकार गोपाल गिरीको धारणा छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका कामको जस लिने होडबाजी समेत दलहरुले गर्न थालेका छन् ।

झापाको साविक जिल्ला विकास समितिले बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि पहिलोपल्ट रु ३० लाखको बजेटमा सुरुङ बार बनाएको थियो भने त्यसअघि लाखौँको खर्चमा मचान निर्माण गरिएका थिए ।

हाल विश्व बैंकको रु एक करोडभन्दा बढीको सहयोगमा विद्युतीय तारबार भएका कारण बाहुनडाँगीमा एक वर्षयता हात्तीको समस्या न्यूनीकरण भएको छ । यसै आर्थिक वर्षमा हात्ती नियन्त्रणका लागि भनेर झापामा नेपाल सरकारले रु आठ करोड आठलाखको बजेट छुट्याएको छ ।

मानव–हात्ती द्वन्द्व न्यूनीकरण परियोजनाअन्तर्गत दक्षिण झापाको जलथलदेखि उत्तरी झापाको बाहुनडाँगीसम्म नै सोलार फेन्सिङ ९सौर्य विद्युत बार० र करिडर निर्माण गर्नका लागि नेपाल सरकारले हालै सो बजेट विनियोजन गरेको हो ।

बजेट आइपुग्न बाँकी रहेपनि नेताहरुले भने त्यो बजेटका बारेमा प्रचार गरेर भोट तान्ने प्रयास गरिरहेका छन् । चन्द्रकला भण्डारी/रासस