काठमाडौं – यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशव प्रसाद पौडेललाई प्रदान गरिएको छ । २०४२ सालदेखि पत्रकारितामा सक्रिय पौडेललाई शुक्रबार सो पुरस्कार हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT


नेपाल समाचार केन्द्र प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि सम्मान पत्रसहित नगद ३४ हजार रहेको छ । नेपालमा आर्थिक पत्रकारिताको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेका स्वर्गीय पत्रकार विजयबाबु खत्रीको स्मृतिमा २०७५ सालमा केन्द्रले पुरस्कार स्थापना गरेको हो । खत्रीको दशौं स्मृति दिवसको अवसरमा गत मंसिर १२ गते यस वर्ष पौडेललाई सो पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो ।


ADVERTISEMENT

# # #


पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई तेस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको थियो । केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा सो पुरस्कार हस्तान्तरण गरिएको हो । पुरस्कृत व्यक्तित्व पौडेललाई केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले सम्मानपत्र हस्तान्तरण गरिन् । सो अवसरमा उनले पौडेलजस्ता अग्रज पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाउँदा समाचार केन्द्र गौरवान्वित भएको बताइन् । पत्रकार पौडेलले पनि केन्द्रले आफू र आफ्नो पत्रकारितालाई सम्झिएकोमा धन्यवाद दिए ।

पौडेल न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुन् । काठमाडौं–३२, कोटेश्वरका स्थायी वासिन्दा उनी सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित भएका थिए । खेलकुद बिटको समाचार लेखनबाट पत्रकारिताको सुरुवाती गरेका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन् । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी र दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम पुरस्कृत भएका थिए ।