काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकबाट अस्थीरता र अराजकता अन्त्य गर्न ताजा जनादेशको विकल्प नभएको दोहोराएका छन् ।


ADVERTISEMENT


शनिबारबाट भक्तपुरमा सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले जनमत प्राप्त सरकारलाई हटाएर मुलुकमा अस्थीरता र अराजकता पैदा गर्न खोजिएको भन्दै ताजा जनादेशको विकल्प नभएको बताएका हुन् । यसअघि एमालेकै भोटले जितेका व्यक्तिहरुले बेईमानी गरेको र पार्टीलाई बिगार्न खोजिएको उनले बताए।


ADVERTISEMENT

# # #


उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनका साथै अन्य निर्वाचनमा जीतको लक्ष्यका साथ तयारी गर्न निर्देशन दिए । उनले स्वार्थमा नभएर बिचारमा संगठित भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । एमालेको बिजयीलाई सुनिश्चित बनाउनका लागि एकीकृत भएर जनतामाझ जार्नुपर्ने र यसका लागि कुनै मोर्चाबन्दीको आवश्यकता नरहेको उनको भनाई छ । अध्यक्ष ओलीले जनताका लागि गर्नैपर्ने विभिन्न कामहरुको सूची बनाएर नै परिचालन हुन निर्देशन दिए ।

केन्द्रीय कमिटी बैठकले नेता अमृत बोहोरा एमाले सल्लाहकार परिषद्को अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ । बैठकले महाधिवेशनबाट अब एमालेमा फरक गुट र बिचार नरहेको उल्लेख निष्कर्ष निकालेको छ । महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन गर्दै बैठक आइतबार समापन हुने एमालेले जनाएको छ ।