बैतडी – बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाउने तयारी भएको हो ।


ADVERTISEMENT


सरकारले देशका विभिन्न जिल्लामा किशोरकिशोरीका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरीशप्रसाद भट्टले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई आगामी पुस ४ गतेदेखि मोडर्ना खोप दिइने भएको हो । बैतडीमा उक्त उमेर समूहका ३५ देखि ४० हजार किशोरकिशोरी रहेको स्वास्थ्य कार्यालयको अनुमान रहेको छ ।

खोप अभियान प्रभावकारी बनाउने विषयमा बैठक बोलाइएको छ । स्वास्थ्य कार्यालयले आइतबार स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूसँग भर्चुअल मिटिङ बोलाएको हो । स्वास्थ्य शाखा प्रमुखहरूसँगको बैठकपछि कुन कुन पालिकामा कहिले र कुन ठाउँमा खोप लगाउने भन्ने विषयमा यकिन हुने जनाइएको छ ।

मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। बैतडीमा अहिलेसम्म ९० हजार व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् भने ६० हजार व्यक्तिले पूर्ण खोप लगाएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ । रासस