झापा– अर्जुनधारा नगरपालिका–९ स्थित नमूना सामुदायिक वन परिसरमा निर्मित राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको शालिकको अनावरण हुने भएको छ ।


ADVERTISEMENT


यसअघि विसं २०७६ चैत १६ गते र विसं २०७७ वैशाख २६ गते शालिकको अनावरणको कार्यक्रम तोकिए पनि कोभिड–१९ को सङ्क्रमणका कारण स्थगन भएको थियो । दुईपटकसम्म स्थगन गरिएको शालिकको अनावरण यही मङ्सिर २६ गते किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।


ADVERTISEMENT

# # #


फाल्गुनन्द स्मृति प्रतिष्ठानले विसं २०७४ मा नेपाल सरकारको २० लाख रुपैँया साविक जिल्ला विकास समितिको पाँच लाख रुपैँय र विभिन्न दाताहरूबाट सङ्कलन भएको २५ लाख रुपैँय गरी कूल ५० रुपैँय लाखको लागतमा लिङ्देनको शालिकसँगै माङहिम (किराँत धर्मावलम्बीहरूको मूल मन्दिर), धुनी कुण्ड, पुजारी आश्रम, गेट र शौचालय निर्माण गरिएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले सो क्षेत्रमा बहुधार्मिक पर्यटकीय स्थलको पहिचान बनाउने उद्देश्यले छ कठ्ठा जमिनमा सो संरचना निर्माण गरेको जानकारी दिए । उनले राष्ट्रिय विभूति लिङ्देनको शालिक एउटै ढुङ्गालाई कुँदेर मञ्जुल मितेर कला केन्द्र मोरङ उर्लाबारीका मूर्तिकार भक्त राईले तयार पारेको बताए । लिङ्देनको छ फिट उचाइ रहेको शालिक निर्माणमा मात्र १० लाख रुपैँयाखर्च भएको उनको भनाइ छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेती, किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले आउने कार्यक्रमलाई सफल पार्नका लागि प्रतिष्ठानले सातवटा उपसमिति गठन गरेको छ । देशकै नमूना प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य लिएको माङहिमको गुरुयोजना तयार गरी फाल्गुनन्द बाटिका निमार्ण गर्ने, नेपाली भाषा, साहित्य, संस्कृतिको पुस्तकालय तथा अध्ययन केन्द्र निर्माण गर्नेलगायतका योजना रहेको प्रतिष्ठानका सचिव लवकुश गौतमले बताए ।

कार्यक्रमस्थल तथा व्यवस्थापन उपसमितिका संयोजक मोहन सुब्बाले सो क्षेत्रमा हिन्दूहरूको शिवालय, प्रकृति पूजक मगर र चौधरीलगायत विभिन्न जातजातिका धार्मिकस्थल रहेको जानकारी दिए । रासस