सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल–चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका छन् ।


ADVERTISEMENT


उनीहरुले २०७७ साल असार २४ गते राति आएको बाढी र पहिराले पुरिएको जम्बु बस्ती क्षतिग्रस्त सडक, पुल र सो क्षेत्रको अवलोकन गरे । त्यसपछि हरेक वर्ष पहिरो गएर सडक अवरुद्ध भइरहने इको एरिया, बाढीले क्षति पुगेको लिपिङ पुल र नेपाल–चीन सीमा क्षेत्र मितेरी पुलको अवलोकन गरे ।


ADVERTISEMENT

# # #


अवलोकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलगायतका सरकारी अधिकारीहरु, राजनीतिक दलका नेताहरु, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, भोटेकोसी गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु र स्थानीयवासीको उपस्थिति थियो ।

अवलोकनका क्रममा उनीहरुले भूकम्प, केही वर्षयताको लगातारका बाढीपहिराका कारण जीर्ण बनेको सडक र तातोपानी नाकाबाट हाल भइरहेको आयातनिर्यातबारे जानकारी लिए । अवलोकपछि सभामुख सापकोटा र मन्त्री शर्माले तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापारसम्बन्धी छलफलमा सहभागिता जनाए।

छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडकको पुनर्निर्माणलगायतका विकास कार्यलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने आवश्यकता औँल्याए । उनले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल–चीन सम्बन्धमा ऐतिहासिक महत्व बोकेको, जन्ती मार्गसमेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उनले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए ।

भूकम्प, बाढी र पहिरोजस्ता विपत्तिका कारण बाह्रबिसेदेखि तातोपानीसम्मको सडक व्यवस्थित गर्न चुनौती भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सीमा नाकाबाट आयातनिर्यात सहजीकरणका लागि चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै थप सहज हुने विश्वास व्यक्त गरे । उनले सो सडकखण्ड सुधारका लागि सरकारी प्रतिबद्धताअनुसार परिणाम आउने गरी काम अघि बढ्ने विश्वास व्यक्त गरे ।

छलफलमा अर्थमन्त्री शर्माले सडक सुदृढीकरण र नाका व्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिए । उनले सो क्षेत्रको सडक निर्माणका लागि अर्थ र भौतिक मन्त्रालयका सचिवले समन्वय गरेर कार्य गर्न निर्देशन दिए ।

भन्सार विभागका महानिर्देशकसहितको सो छलफल भूकम्प, बाढी र पहिरोका कारण बिग्रेको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डको व्यवस्थित निर्माण र नाकाको सहज सञ्चालनमा केन्द्रित रहेको थियो ।