काठमाडौं – विश्वलाई विद्युतबाट चल्ने प्रविधिको चमत्कार देखाउँदै आएको चीन यतिबेला आफैं अन्धकारमा डुबेको छ । साँघाइ होस् या बेइजीङ, चीनका हरेक ठूला शहरमा विद्युत कटौती भइरहेको छ ।


ADVERTISEMENT


शहरहरु यतिबेला अन्धकारमय छन् । सडकमा ट्राफिक बत्ती निभाइएको छ । सर्वसाधारणको घरमा बिजुली कटौती गरिँदैछ । मानिसहरु उज्यालोका लागि स्मार्टफोनको फ्ल्यास लाइट उपयोग गर्न विवश छन् ।


ADVERTISEMENT

# # #


उद्योग कलकारखाना उत्पादन घटाइरहेका छन् । आफ्ना सस्ता सामानको बलमा विश्व बजारमा वर्चस्व कायम गर्न अग्रसर चीन यतिबेला उत्पादन नै कटौती गरिरहेको छ ।

चीनमा बिजुली आपूर्तिको संकट गहिरिँदै जाँदा यसले त्यहाँको विशाल अर्थव्यवस्थाको गती मन्द हुने मात्र हैन, विश्वकै आपूर्ति श्रृंखलामाथि नै दबाब बढने खतरा छ ।

चीनमा विद्युत संकटका कारण विश्वभरी कार, टीभी, मोबाइल सेट र अन्य स्मार्ट ग्याजेट उत्पादनमा असर पर्दैछ । चीनको औद्योगिक क्षेत्रमा कम्पनीहरुलाई विद्युत माग घटाउन उर्जा खपत सिमित गर्न निर्देशन दिइएको छ । चीनको सरकारी संचार माध्यमको एक रिपोर्टका अनुसार केही घरमा विद्युत आपूर्तिमा कटौती गरिँदा केही मानिस लिफ्टमा फसिरहेका छन् ।

चीनका सबै शक्तिशाली आर्थिक योजना एजेन्सीहरु देशमा उत्पन्न विद्युत संकट हटाउन जुटिरहेका छन् । तर, सफल भइरहेका छैनन् । चीनले सबै एजेन्सीलाई आफ्ना नागरिक तथा व्यवसायीलाई के भरोसा दिलाउन खोजेको छ भने विद्युत् संकट हटाउन हरसंभव कोशिस गरिनेछ ।

विश्वव्यापी प्रभाव
गत केही वर्षदेखि चीनले आफूलाई विश्वभरका कारखानाका लागि कच्चा पदार्थको ठूलो आपूर्तिकर्ताका रुपमा विकसित गरेको छ । विश्वभर इलेक्ट्रोनिक्स, औषधि, प्लास्टिक, कार, अटोमोबाइल्स र अन्य कारखानाका लागि आवश्यक सामान आपूर्तीमा चीन अग्रणी देश हो ।

चीनको हालको विद्युत संकट लम्बिएमा विश्वभरका कलकारखानाको काम प्रभावित हुनेछ । यसले विश्वकै अर्थतन्त्रमा संकट उत्पन्न गर्ने र रोजगार र अर्थव्यवस्थामा निकै असर पार्ने आशंका गरिएको छ । चीनको अर्थतन्त्र डामाडोल हुने मात्र हैन, चीनमा निर्भर धेरै मुलुकमा उत्पादन घटनेछ ।

किन अवरुद्ध भयो, विद्युत आपूर्ती ?
चीनमा विद्युत् संकट मेनुफेक्चर्सको बढदो मागका बिच कोइला आपूर्तीमा उत्पन्न अवरोधबाट सिर्जना भएको हो । चीनमा केही बन्दरगाह लामो समयदेखि बन्द थिए । यस्तोमा विद्युत पावरप्लान्टको मागको तुलनामा कोइलाको आपूर्ती हुन सकेन । चीनले थर्मल प्लान्टबाट विद्युत् उत्पादन गर्छ, जसका लागि धेरै मात्रामा कोइला चाहिन्छ ।

अष्ट्रेलिया चीनको ठूलो कोइला आयात गर्ने मुलुक हो । केही समय यता अष्ट्रेलियासँगको सम्बन्धमा कटुता बढेपछि अष्ट्रेलियाबाट चीनमा कोइला निर्यात भइरहेको छैन । अर्कोतिर कोइलाको मूल्य बढेको छ । चीनमा कोइला आपूर्ती अझै रोकिएकै छ । र, कोइला मगाउन बन्दरगाहमा लामो प्रतिक्षा भइरहेको छ । यस्तो अवस्थामा चीनका धेरै क्षेत्रमा सरकारले बिजुली काटने घोषणा गर्‍यो । ती क्षेत्रमा सपिङ मल र पसलहरु बन्द भए र उद्योग कलकारखानाको काम रोक्नुपर्‍यो ।

नेपाल, भारतलगायत धेरै देशमा खेलौनादेखि लिएर कपडा बनाउने कम्पनीले समेत चीनबाट कच्चा पदार्थ आयात गर्छन् । वर्षान्तको पर्व उत्सवका कारण यतिबेला विश्वभरिका कारखानामा उत्पादनको काम तीब्र छ । चीनको विद्युत् संकटका कारण ती कारखानाको उत्पादन पनि प्रभावित हुनसक्छ ।

यसैबीच चीनका उद्यमीहरुले सरकारलाई विद्युत सँकटबाट तत्काल राहत नपाए चीनको आर्थिक पावर हाउस मानिने तीन ठूला प्रदेशमा आर्थिक गतिविधि प्रभावित हुने चेतावनी दिएका छन् । उता, चीनमा यदि विद्युत् संकट चाँडै समाधान भएन भने विश्वभर क्रिसमस र नयाँ वर्षको अवसरमा स्मार्टफोन, टीभी र अन्य ग्याजेटस् किन्न प्रतिक्षा गरिरहेका मानिसहरुको आशामा तुसारापात हुनसक्छ ।

एप्पल र टेस्लाजस्ता कम्पनीका अलग–अलग आपूर्तीकर्तालाई पनि विद्युत् संकटका कारण काम रोक्नु परिरहेको छ । चीनका कारखानाका लागि यो समय व्यस्तताको हो । तर, विद्युत संकटका कारण कारखानामा ताला लागिरहेको छ । चीनका यो क्षतिले विश्वमै असर पार्नसक्छ र आर्थिक मन्दीसम्मको खतरा मडारिनसक्छ ।