काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएका छन् ।


ADVERTISEMENT


सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र आज बुझाउँदै समर्थन फिर्ता लिएका हुन् ।


ADVERTISEMENT

# # #


सङ्घीय समाजवादी फोरम नेपालले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र बुधबार नै सभामुखको सचिवालयमा बुझाएको थियो ।सरकारलाई मोर्चाका तर्फबाट स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता, संविधान संशोधन सम्बन्धी दिइएको सातदिने समयसीमा (अल्टिमेटम) पूरा नभएपछि समर्थन फिर्ता लिएको मोर्चाले जनाएको छ ।

सदनमा सङ्घीय समाजवादी फोरम १५, तमलोपाका ११ , सद्भावना पार्टीका ५, फोरम गणतन्त्रिक १, राष्ट्रिय मधेस समाजवादी पार्टी ३ सदस्य सङ्ख्या रहेको छ ।

मोर्चाका तर्फबाट सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सभामुखको सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउँदै मोर्चा प्रतिपक्षमा बस्ने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी दिए ।
सञ्चारकर्मीको एक जिज्ञासामा उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सुध्रिन्छ, आफ्नो कार्यशैली परिवर्तन गर्छ भने सहकार्य हुनसक्छ भने।