काठमाडौं – नेपाललाई भारतबाट पाइपलाइनबाट डिजेल ल्याउँदा ल्याउँदा ३ अर्ब २३ करोड २२ लाख १६ हजार रुपैँया फाइदा भएको छ । हाल नेपालले भारतबाट पाइपलाइनमा डिजेल मात्र आयात गरिरहेको छ ।


ADVERTISEMENT


अन्य पेट्रोलियम पदार्थ पनि पाइपलाइनबाट ल्याउने हो भने नेपालले अर्बौ रुपैंया बचत गर्न सक्छ । दुई वर्षअघि नेपालले ट्यांकरमा पेट्रोलियम पदार्थ आयात गर्ने गरेको थियो । नेपालमा पाइपलाइनबाट डिजेल आउन सुरु भएको २ वर्ष पूरा भएको छ ।


ADVERTISEMENT

# # #


नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको थियो ।

दुई वर्षको यो अवधिमा पाइपलाइनबाट १ अर्ब ६१ करोड लिटर डिजेल आयात भएको छ । यो आयातबाट निगमले ३ अर्ब २३ करोड २२ लाख १६ हजार रुपैँया बचत गर्न सफल भएको निगमले जनाएको छ । पाइपलाइनबाट अहिलेसम्म आयात भएको डिजेलमध्ये आर्थिक वर्ष २०७६ र ०७७ मा गरी ४८ करोड ८५ लाख लिटर, आर्थिक वर्ष २०७७ र ०७८ मा गरी १ अर्ब ३१ तथा चालू आर्थिक वर्षमा १२ करोड ४४ लाख डिजेल आयात भएको थियो ।

निगमले अहिले पाइपलाइनबाट डिजेल मात्रै आयात गरिरहेको छ । पेट्रोल मट्टितेलका लागि भने अहिले पनि तेल भर्न ट्यांकरहरु भारतमै पुग्ने गरेका छन् । निगमका ट्यांकरहरु पेट्रोल र मट्टितेल लिन रक्सौलस्थित बरौली डिपोमा पुग्ने गरेका छन् ।

अमलेखगञ्जदेखि बरौलीसम्मको उक्त तेल भर्नका लागि ट्यांकरहरुले करिब २ सय ५० किलोमिटर गुड्नुपर्छ । त्यसो गर्दा ट्यांकरबाट आयात हुने तेल महँगो पर्न जान्छ । त्यसबाहेक भारतको राज्य सरकारले लिने कर, टोल कर तथा खाना तथा खाजा खर्चका कारण प्रतिट्यांकर करिब ५० हजार रुपैयाँ लागत लाग्ने गरेको निगम प्रदेश २ प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादव बताउँछन् ।

त्यसबाहेक पाइपलाइनबाट पेट्रोलियम ल्याउँदा त्यसबाट घट्न जाने प्राविधिक नोक्सानीबाट पनि निगमले थप बचत गर्दै आएको छ । ढुवानी भाडा र प्राविधिक नोक्सानीमा हुने कमीका कारण पाइपलाइनबाट भएको बचतकै कारण पाइपलाइन उद्घाटनसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले घटाएर उपभोक्तालाई प्रत्यक्ष राहत दिएको थियो