काठमाडौँ – अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीसँग भेट गर्नका लागि उनकै निजी निवास बालकोट पुगेकी छन् ।


ADVERTISEMENT


बुधबारमात्रै नेपाल आइपुगेकी उनले नेपालका राजनीतिज्ञहरुसँगको भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् ।


ADVERTISEMENT

# # #


फतिमा चारदिन नेपालमा रहने बताइएको छ । यसक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्नेछिन् ।

‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसिसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता ९कम्प्याक्ट०मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।

यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।