चितवन– भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन ।

धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ । फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताउँछन् । सामान्य जनशक्तिले काम गरिरहेको भन्दै साउन लागे यता आर्थिक अभावका कारण काममा बाधा पुगेको उनी सुनाउँछन् ।


ADVERTISEMENT

# # #


रङ्गशालामा हालसम्म रु ५३ करोड बराबरको काम भएको छ जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाले जानकारी दिए । उनी भन्छन्, ‘असार मसान्त हुँदै गर्दा सामाग्री दिनेहरुलाई भुक्तानी गर्न सकेनौँ । सामानकै अभावमा काम हुन सकेको छैन ।’ उनका अनुसार, साउन १५ गतेयता जनशक्ति नियमित काममा लगाउन सकिएको छैन । सामग्री दिनेहरुले रकम माग्ने क्रम बढ्दो छ ।

अध्यक्ष कट्टेल दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दा रङ्गशालाको धेरै काम गर्न सकेको बताउँछन् । गत वर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उनले आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने जनाए । रकम जुटेमा आउँदो एक वर्षमा रङ्गशाला सम्पन्न हुने उनको भनाइ छ । हाल भुई र प्याराफिटको फिनिसिङको काम भइरहेको छ । बजेट भएको भए ढलानका काम अघि बढ्ने उनी बताउँछन् ।

विगत केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको उनले जानकारी दिए । अर्थमन्त्री, खेलकुद मन्त्रालय लगायतका निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उनको भनाई छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नयाँ अर्थमन्त्री आएसँगै रङ्गशाला, नारायणी नदी तटबन्धन र महानगरको प्रशासनिक भवनका लागि बजेट माग गरी पत्राचार गरिएको बताइन् । उनी भन्छिन्, ‘सङ्घीय, प्रदेश, महानगरसँगै दाताहरुको सहयोगमा छिट्टै रङ्गशाला निर्माण सम्पन्न गर्नुपर्छ भन्नेमा हामी लागिपरेका छौँ । महानगरभित्रको महत्वपूर्ण आयोजना रङ्गशाला भएको भन्दै उनले यसको कामलाई गति दिन आवश्यक रकम जुटाउनेमा लागिपरेको प्रस्ट्याइन् ।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदैछ । विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ । रासस

प्रतिकृया

प्रतिकृया