काठमाडौँ– नेपाल प्रेस युनियन, कालिकोटले पत्रकारलाई सार्वजनिक रुपमै धम्की दिदैँ सोहिअनुरुप आक्रमण समेत गर्ने हर्कतविरुद्ध कर्णाली प्रदेशका कृषिमन्त्री कुर्मराज शाहिलाई चेतावनी दिएको छ ।


ADVERTISEMENT


युनियनले युनियन कालिकोटका अध्यक्ष तथा अन्नपुर्णकर्मी बिष्णु प्रसाद न्यौपानेद्वारा गत भदौ ६ गते र नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायद्धारा भदौ ७ मा ‘कृषिमन्त्री शाहीलाई बलात्कारको आरोप’ भन्ने शिर्षकमा लेखिएको समाचारप्रति आक्रोशित हुँदै पत्रकारहरु लाई ज्यान मार्ने धम्की सहित घर घेराउ  गरी ढुङ्गामुढा प्रहार गर्ने र सांघाातिक आक्रमणको प्रयास गर्ने  मन्त्री शाहिको अशोभनिय क्रियाकलाप उपर चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


युनियनका अनुसार, सो शिर्षकमा समाचार सार्वजनिक भएपछि मन्त्री शाहीका स्वकिय प्रेम बुढा, प्रेस सल्लाहकार नन्दकेस अधिकारी, युवा संघ कर्णाली संयोजक केशन शाही, खाडाचक्र २ का वडा अध्यक्ष बिर्खसिह विकसहितले ज्यान मार्ने धम्की दिएको हो ।

जसमध्ये स्वकिय बुढाले फोनमा र अन्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा नै उनीहरुलाई मार्ने धम्की दिएका दिए ।

यति मात्र नभई समाचार प्रकाशित भएलगत्तै भदौ ६ गते सुर्खेत बिरेन्द्रनगर वडा नं ३ मा रहेको पत्रकार न्यौपानेको घर घेरेर मन्त्रीका आफन्त र समर्थकहरुले ढुङगामुढा गर्ने, सांघातिक आक्रमण गर्न प्रयास गर्ने, टाउको झोलामा जीउ खोलामा भन्दै सार्वजनिक रुपमा हत्या गर्ने धम्की दिने लगायतका हर्कत गरेका छन्, भने यस्ता गतिविधि दोहोरिने क्रम अझै रोकिएको छैन ।  जसबाट पत्रकारहरु भूमिगत हुने अवस्था सिर्जना भएको भन्दै युनियनले आज एक विज्ञप्ति जारी गरी सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ ।

‘यस बिषम परिस्थितिमा नेपाल प्रेस युनियन पत्रकारद्वयको सुरक्षाप्रति चिन्तित छ। राज्यका जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार प्रवृत्ती उजागर भएपछि कानुन हातमा लिएर जंगलराज बनाउने खोज्ने हर्कतको नेपाल प्रेस युनियन कडा शब्दमा निन्दा गर्दछ; महासचिव आयबाबु शिवाकोटीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘मन्त्री शाही र उनका कार्यकर्ताको धम्कीका कारणले लुकेर हिड्न वाध्य पत्रकारद्वयलाई कहि कतै सानो चोट मात्र लागे पनि यसको सम्पूर्ण दोष स्वयं मन्त्रीको हुने यसै विज्ञप्ती मार्फत चेतावनी दिन चाहन्छौ ।’

साथै पत्रकारद्वयलाई सुरक्षाको पूर्ण प्रत्याभुती दिलाउँदै पूर्ववत रुपमा पत्रकारिता गर्ने वातावरण मिलाइदिन पनि युनियनले स्थानिय प्रशासनसँग माग गरेको छ ।