काठमाडौँ – नेकपा एमालेका प्रतिनिधिसभा सांसद र पार्टी अध्यक्ष केपी शर्माओलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई धम्क्याएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती निकाल्दै सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जनता समाजवादी पार्टी (जसपा) सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र माधव नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ती निकाल्दै आपत्ति जनाएका हुन् ।


ADVERTISEMENT

# # #


सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको उनीहरुको ठहर छ । उनीहरुले संवैधानिक मर्यादा अवलम्बन गर्न समेत विपक्षी दलका नेता ओलीलाई आग्रह गरेका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संवैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुखका साथै संघीय संसदको संरक्षक पनि हो । सभामुखका विरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् ।’

नेकपा एमालेले १४ सांसदलाई कारबाही गर्दै पदबाट हटाउन संसद सचिवालयमा पत्र पठाएको थियो । तर, सभामुख सापकोटाले उनीहरुलाई कारबाही गरिएको सूचना सार्वजनिक नगरेको भन्दै एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेर धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।

यस्तै पार्टी अध्यक्ष ओलीले भिडियो मार्फत सभामुख सापकोटालाई संसद चलाउन मन छ कि छैन ? भन्दै प्रश्न गरेका थिए ।