नेकपा एमालेका नेता तथा बाम गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका लागि उम्मेद्वारका प्रत्यासी खिमलाल भट्टराईसंग निर्वाचनमा उनका राजनीति एजेण्डा र वर्तमान राजनीतिका बारेमा हिमालयपोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


संक्रमणकालको अन्त्य गर्ने अभियानमा लामो समयपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । संघ र प्रदेशको निर्वाचनको प्रक्रिया अगाडी बढिरहँदा बाम गठबन्धनले पनि एक किसिमको रुप लिएको छ । राजनीतिक गतिविधि के कसरी अगाडी बढिरहेका छन् ?


ADVERTISEMENT

# # #


स्थानीय तहको निर्वाचनको सम्पन्नताले राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनलाई बदलिदिएको छ । त्यसमा नेकपा एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको छ । मतको हिसाबले हेर्दा, निर्वाचनको पदीय सन्तुलनले वा जुनसुकै दृष्टिकोणले हेर्दापनि नेकपा एमाले पहिलो पार्टीको हैसियतमा उदाएको छ । देशको स्वाभिमानलाई उच्च बनाउने, राष्ट्रियता लाई मजबुत बनाउने तथा देशमा आर्थिक रुपान्तरण गर्नका लागि हामीले नीति, कार्यक्रम, बजेट जसरी अगाडी सार्योँ । जनताको बीचमा त्यो चिज नै लोकप्रिय बनेको छ । अबको बाटो पनि यही नै हो । यसले गर्दा नेकपा एमाले जनताको बीचमा लोकप्रिय र बलशाली बनिरहेको छ । प्रदेश र संघको निर्वाचनमा देश अगाडी बढिरहँदा हामीले के निष्कर्ष गरेका छौँ भने अब देशको जिम्मा नेपाली जनताले एमालेलाई दिनुपर्छ र दिन्छन् पनि । नेकपा एमालेले नै परिवर्तनलाई संस्थागत गरेर जनताको घर आँगनमा लैजान सक्छ भन्ने जनताको मानसिकता पुगेको हामी पाउँछौँ । एमालेले पनि निर्वाचनको सन्दर्भमा त्यही किसिमको तयारी गरिरहेको छ । हामीले पार्टी केन्द्रिय कमिटीको बैठक बसेर अब संगठनात्मक संरचनालाई पनि निर्वाचन उन्मुख गर्ने, राजनीतिक परिवेशलाई पनि त्यस अनुकुल बदल्ने र आफ्ना दएजेण्डाहरुलाई उम्मेद्वार मार्फत जनतासामू पुर्याउने तयारी गरिरहेका छौ । जस अनुसार हामीले पहिलो चरणको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरिसकेका छौँ । निर्वाचनका लागि पार्टीको घोषणापत्र बनाउने तयारीमा साथीहरु हुनुहुन्छ ।

यसका साथै हाम्रो पार्टीको विरुद्धमा घेराबन्दीको तयारी पनि भइरहेको थियो तर त्यसलाई हामीले करिब तोड्न सफल भएका छौँ । राजनीतिलाई आफ्नो अनुकुलतामा बदल्ने, देश र जनतालाई आफ्नो अनुकुलतामा बदल्नु जुन पार्टीको सोच थियो । जस अनुसार पार्टी एकता गर्ने गरी माओवादी केन्द्रसंग सहकार्य पनि भइरहेको छ । यो सबै हेर्दा अब नेपालको राजनीति सकारात्मक दिशातिर अगाडी बढिरहेको छ । जसरी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले विजय हासिल गर्यो । त्यसैगरी सातवटै प्रदेश र केन्द्रमा नेकपा एमालेले सरकार सरकार निर्माण गर्छ । त्यसपछि नेकपा एमाले सुखी नेपाली समृद्ध नेपाल भन्ने हाम्रो मूल नाराका साथ देशलाई अगाडी बढाउँछ ।

एक्कासी जुन रुपमा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी तालमेल गर्ने र पछि पार्टी एकिकरण गर्ने सम्मको सहमति भयो, त्यसलाई जिल्ला तथा स्थानीय स्तरका जनता, कार्यकर्ताहरुले कुन रुपमा व्याख्या विश्लेषण गरेको पाइयो ? यसमा उनीहरुको दृष्टिकोण कस्तो पाउनुभयो ?

आम जनतामा धेरै नै उत्साह पैदा भइराखेको छ । यसमा शंका गर्ने व्यक्तिपनि छन्, नभएको होइन । तर आम रुपमा तपाईले हेर्नुभयो भनेदेखि यसले धेरै नै उत्साह पैदा भइराखेको छ । अब देश सही बाटोमा जाँदैछ । हिजो देखि नै जनताको रुची थियो कि बामपन्थीको एकता होस्, देशको अर्थतन्त्र बलियो होस्, हाम्रो राष्ट्रियता मजबुत होस् भनेर जनताले सोचिरहेका थिए । अहिले जनतामा यो बाटो खुल्दैछ, एमाले माओवादी गठबन्धनले एउटा नयाँ उत्साह पैदा गरिरहेको छ । आम रुपमा कार्यकर्ताहरुमा धेरै उत्साह छ । अब हामी जित्छौँ । यसको अर्थ जनताले जित्नु हो । एमाले कमजोर हुँदै गर्दा देशको राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धिको सपना खतरामा पर्छ कि भन्ने एक शंका थियो । अहिले त्यो डरबाट समाज मुक्त भइराखेको छ । यसको लागि एमाले एकदमै जिम्मेवार भएर अगाडी बढिरहेको छ । माओवादी पनि त्यही लचकताका साथ अगाडी बढिरहेको हामी पाउँछौँ । यसले जनताको उत्साहलाई मर्न दिँदैन ।

अब तपाईको क्षत्रको चुनावी माहोलको बारेमा बतादिनुस् न ।

म रुपन्देहीको ५ नम्बर क्षेत्रमा पार्टीबाट एकल रुपमा सिफरिस भएको छु । त्यहाँ पार्टीभित्र पनि के ही समस्या छैन । त्यहाँको स्थानीय भएको र केन्द्रिय राजनीतिमा पनि एक किसिमको दखल दिइराखेको भएकोले म उम्मेद्वार बन्दै कार्यकर्तामा एउटा उत्साह छाएको छ । जनतामा विश्वास छाएकाले एउटा नयाँ ढंगको तरंग मैले त्यहाँ देखेको छु । आफ्नो नेतृत्वले अहिलेको वैचारिक राजनीतिक भूमिका खेल्नुपर्ने हुन्छ, त्यो भूमिका खेल्न सक्छ भन्ने आशा तथा विश्वास जगाएकाले म खुसी भइराखेको छु । गठबन्धनको हिसाबले पनि मैले खासै समस्या देखिराखेको छैन । माओवादी केन्द्रबाट पनि त्यहाँको उपयुक्त उम्मेद्वार म नै भएको भन्ने गरेको मैले बुझिराखेको छु । त्यस हिसाबले उम्मेद्वारी हुनुपर्छ जस्तो मलाई लाग्छ र त्यहाँ हामी जित्छौँ पनि । गौतम बुद्धको जन्मस्थल लुम्बिनी जसमा लुम्बिनी सास्कृतिक नगरपालिका त्यहाँ पर्छ त्यस कारण पनि मेरो निर्वाचन क्षेत्र एकदमै महत्वपूर्ण पनि छ । लुम्बिनीलाई आधार बनाएर त्यो क्षेत्रकै विकास गर्ने सम्भावना छ । त्यसको नेतृत्व एमालेले लिनसक्छ र त्यहाँको उम्मेद्वारको हिसाबले मैले लिन्छु भन्ने मलाई पनि लागेको छ र त्यहाँको आशाले पनि विश्वास जगाइराखेको छ ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले नेपाललाई विश्वभर चिनाउने एउटा प्रमुख स्थल लुम्बिनी हो । त्यो ठाउँको नेतृत्वको लागि उम्मेद्वारी दिँदै गर्दा सम्पूर्ण लुम्बिनी क्षेत्रको विकासका लागि तपाईका भावी योजना कस्ता छन् ? खिमलाल भट्टर्रालाई जनताले भोट किन दिने ?

अब यसमा विकासको कुरा गर्नु पर्दा त्यहाँको विकासलाई दिगो बनाउनका लागि हामीले आधुनिक हिसाबले हामी अगाडी बढ्नु पर्छ । लुम्बिनीको विकास गर्नका लागि हामीले त्यो घेराभित्र मात्र विकास गरेर पुग्दैन । त्यसको लागि आवश्यक सडकको व्यवस्था, एयरपोर्टको व्यवस्था, आवश्यक होटेलहरुको व्यवस्था, सुरक्षा प्रबन्ध लगायत योसंग जोडिएका धेरै चिजहरुको विकास गर्नपर्छ । संसारमै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा लुम्बिनी हुने कुरा त छँदैछ । त्यो हिसाबले हामीले विकास गर्नु पर्छ । त्यसलाई अत्याधुनिक हिसाबले पूर्वाधारको विकास, त्यही मात्रामा क्षेत्रभित्रको विकास गर्नु पर्ने हुन्छ ।

अर्को भनेको अहिले रुपन्देही राज्यको नजरमा विकसित नै मानिन्छ । तर पनि अहिलेसम्म त्यहाँ सुकुम्बासी समस्या छँदैछ । हामीले २ वर्षभित्र नेपालमा कोहीपनि सुकुम्बासी नरहने गरी पार्टीगत हिसाबले योजना बनाएर अगाडी बढ्नु पर्छ । अर्को रुपन्देहीमा धेरै खेती योग्य जमिन छ । त्यसलाई आवश्यक सिँचाईको व्यवस्था, मलखातको व्यवस्था गरेर कृर्षिलाई हामीले आधुनिक रुपमा विकास गर्ने हो । अर्को विद्यालयलाई स्तरोन्नत गर्ने कुरा, स्वास्थ्य चौकी स्तरोन्नत गर्ने कुरा, सुरक्षा प्रबन्धको व्यवस्था पनि हामीले गर्नु पर्नेछ । अरु भनेको युवाहरुको रोजगारीको कुरा छ । सिङ्गो रुपन्देहीलाई सहरीकरण गरेर सुन्दर, सुविधा र अवसरयुक्त शसरका रुपमा विकास गर्ने हो । त्यसको सम्भावना छ र मैले ती सबै कुराको ‘होमवोर्क’ गरिरहेको छु ।

अन्त्यमा आम जनतालाई के भन्न चाहनुहुन्छ ? विशेष गरी तपाईको निर्वाचन क्षेत्रका मतदाताका लागि ।

अब देशमा एमालेको सरकार बन्दैछ । एमालेले देशको नेतृत्व गर्ने स्थिति बन्दैछ । यो जनता र राष्ट्रका लागि खुसीको कुरा हो । मेरो निर्वाचन क्षेत्रको कुरा गर्नुपर्दा त्यहाँ खुसीका दिन अब सुरु भए । त्यहाँको नेतृत्व लिएर त्यहाँको विकास गर्नसक्छु भन्ने म मा आत्मविश्वास छ । स्थानीय स्तर र केन्द्रिय स्तरमा पनि म त्यो क्षेत्रको विकासका लागि अगुवाई गरेर जनताको हितमा काम गर्नेछु । त्यस कारण उत्साही भएर बाम गठबन्धनको उम्मेद्वारलाई जिताउन आग्रह गर्दछु ।