काठमाण्डौं(रासस)  –  झापाको विर्तामोडमा कर्फ्युको समयमा प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको छ । हिजो बिहान तनाव रहेको विर्तामोडमा स्थिति समान्य बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो साढे १ बजे देखि अनिश्चितकालसम्मका लागि लगाएको कर्फ्युमा परी अर्जुनधारा नगरपालिका-११ का नवराज (राजेश) थापाको मृत्यु भएको हो ।


ADVERTISEMENT


कर्फ्यु लगाइएको समयमा कर्फ्यु तोडेर इलाका प्रहरी कार्यालय विर्तामोड तोडफोडमा गएका प्रदर्शनकारीमाथि प्रहरीले गोली हान्दा ३२ वर्षीय थापालाई लागेको थियो । गोली लागेपछि उपचारको लागि मेची अञ्चल अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिप्रका स्रोतले बताएको छ । उनको घाँटीमा गोली लाग‍ेको छ । उनको शव पोष्टमार्टमको लागि लगिएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीको गोलीबाट अन्य १० जना घाइते भएका छदन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको बिएन्डसी मेडिकल कलेजमा, ४ जनाको मेची अन्चल अस्पतालमा र २ जनाको नजिकैको नीजि अस्पतालमा उपचार भइरहेको छ ।

झापाको बिर्तामोडमा अनिश्चतकालीन कर्फ्यु लगाइएको छ । शुक्रबार दिउँसो साढे १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यु जारी गरिएको उनले बताए ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले हिजो बिहान प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौं राउण्ड असुरग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।

दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले हिजो विर्तामोड बन्द गरेका थिए । प्रहरीले ३६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

अहिले पूर्व पश्चिम राजमार्ग बन्द छ । विर्तामोडका सबै पसलहरु बन्द छन् । जिल्ला प्रशासन कार्याललयले अहिले राजनैतिक दल र पीडित परिवार राखेर वार्ता गरिरहेको छ । यसैगरी बिहान भएको प्रदर्शनमा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय तोडफोडको प्रयास गरेका थिए । उनीहरुले प्रहरी कार्यालय तोडफोड गर्न नसकेपछि नजिकै रहेको सडक विभागको स्काइभेटर तोडफोड गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय झापाले अनिश्चिकालिन झापाको विर्तामोडमा कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार दिउँसो १ः३० बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यूजारी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिए । – कान्तिपुरबाट