काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो भएको छ । आईतबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै असार ८ देखि १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।


ADVERTISEMENT


बैठकले निजी सवारी साधन जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार जोर गते जोर नम्वर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधान सञ्चालन गर्न पाइनेछ ।


ADVERTISEMENT

# # #


कार, जीप, भ्यानमा बढीमा चार जनासम्म राखेर चलाउन पाइनेछ भने ट्याक्सीमा ३ जना रहनेगरी जोर बिजोरको आधारमा सञ्चालन गर्न दिइनेछ । मोटरसाइकल पनि जोर बिजोरका आधारमा चल्ने र अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्णय भएको सीडीओ पराजुलीले जनाए ।

बैठकले विभिन्न किसिमका पसलहरु बार अनुसार खोल्न दिने निर्णय गरेको छ । जस अनुसार आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसल खोल्न पाइनेछ ।

सम्बन्धित समाचार
काठमाडौँमा अब कस्तो पसल कुन बार खोल्न पाइन्छ ?

पसल खोल्दा मास्क अनिवार्य लगाएको हुनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, कोठाहरुको डिस्इन्फेक्सन गरेको हुनुपर्नेछ । मापदण्ड पालना नगरे कारबाही गर्ने सीडीओ पराजुलीले बताए । उनले भने, ‘स्वास्थ्य मापदण्ड पालना नगरेमा हामीले अनुगमन गरेर तत्काल बन्द गर्नेछौँ ।’ संक्रमण दर घटेमा आदेश निरन्तर रहने र संक्रमण दर बढेमा थप अझ कडा पार्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

अनलाइन डेलिभरि र सवारी साधन मर्मतका लागि हरेक दिन साँझ ७ बजेसम्मको समय दिइएको छ । सरकारी कार्यालयमा कार्यालय प्रमुखले आलोपालो प्रणालीबाट सेवा प्रवाह गराउने, भौतिक दूरी कायम गर्नुपर्ने, स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।

कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिँदै आइएको छ ।