भेषराज बस्नेत, राँझा – नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ ।


ADVERTISEMENT


भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो नै पहिलो घटना भने होइन । यहाँको भेरी अस्पतालमा मात्रै पटक–पटक स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र आक्रमणका घटना हुने गरेका छन् । कोरोना महामारीको बीचमा वितेको तीन हप्तामा मात्रै भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तबाट चार पटक आक्रमण भएको छ तर कारबाही भने एक जनालाई पनि भएको छैन ।


ADVERTISEMENT

# # #


कोरोना महामारीमा रातदिन काममा खटिएका उपचार केन्द्रको रुपमा स्थापित नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यक्षेत्रमै पटक पटक हुने गरेको आक्रमणले स्वास्थ्यकर्मीको मनोवल कमजोर बन्दै गएको बताउने गरिएको छ । अस्पतालमा श्रृङ्खलावद्ध रुपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको र मनोवल कमजोर बन्दै गएको नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले बताए ।

पछिल्लो घटनापछि भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु दोषीलाई कार्वाही र सुरक्षाको माग गर्दै निरन्तर आन्दोलनमा छन् । विगतमा जस्तै यसपटक पनि दोषीलाई कार्वाही नहुने आशङ्कामा स्वास्थ्यकर्मीले अस्पताल प्रशासनसँगै जिल्ला प्रशासन कार्यालयसम्म पुगेर शान्ति सुरक्षाको माग गरेको वलीले बताए ।

दाङ तुलसीपुर उपमहानगरपालिका निवासी कोरोना सङ्क्रमित डिल्ली रावतको उपचारकाक्रममा गत बिहीबार मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत, मृतकका छोरालगायतका आफन्तले कोभिड आइसीयू कक्षमा प्रवेश गरी चिकित्सक तथा नर्सलाई हातपात गरेका थिए । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले आक्रमण गरेका थिए ।

भेरी अस्पतालमा पछिल्लो तीन हप्ताको अवधिमा चिकित्सक र नर्समाथि आक्रमण भएको यो चौथो पटक हो । यसअघि पनि आकस्मिक कक्ष र कोभिड कक्षमै पसेर विरामीका आफन्तलगायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । ती सबै घटना कोरोना सङ्क्रमितको मृत्युको विषयलाई लिएर भएको भेरी अस्पतालका कोभिड फोकल पर्सन डा. सङ्केत रिजालले बताए।

उनका अनुसार यसअघि हुँदै आएका आक्रमणमा संलग्न दोषीलाई कार्वाही नगरेर उन्मुक्ति दिँदा पटक पटक काममा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना हुने गरेका छन् । घटनामा संलग्न दोषीमाथि कार्वाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन उनले माग गरे ।

भेरी अस्पतालका कोभिड फोकल पर्सन डा. रिजालले पहिलो घटना हुँदा पनि अस्पताल प्रशासनले कारबाहीका लागि निवेदन दिएपनि एक सातामै अभियुक्त छुटेको र त्यसपछि बिहीवार रातीसहित तीन घटना भएको बताए । पहिलो पटक आक्रमण गर्ने दोषीलाई कारवाही नभएपछि अन्य पटक पनि घटना दोहोरिरहेकोले स्वास्थ्यकर्मीको मनोवल कम्जोर बन्दै गएको उनले उल्लेख गरे ।

गत बिहीवार मृतकका आफन्तको आक्रमणमा परेका स्वास्थ्यकर्मीहरु कार्यक्षेत्रमा फर्किसकेका छन् तर अहिले पहिलेको जस्तो उत्साह नभई कमजोर मनोवल हुने गरेको उनीहरुको भनाई छ । फेरि कहीँ आक्रमण हुने हो कि भन्ने डर त्रास उत्पन्न हुने गरेको स्वास्थ्यकर्मी अश्विनी गुरुङले बताए ।

बिहीवार राती पुनः काममा खटिएका चिकित्सकसहित स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । महामारीको समयमा दिनरात नभनेर काममा खटिएका स्वास्थ्यकर्मीमाथि हरेक दिनजसो ज्यान मार्ने उद्देश्यसहित आक्रमण हुँदा मनोबल कमजोर बनेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेको भनाइ छ ।

जबर्जस्ती आइसीयूमा छिरेर तोडफोड गर्दै उपचारमा खटिएका नर्सलाई आक्रमण गर्दै स्वास्थ्यकर्मीको मनोबल गिराउने घटनाका दोषीलाई कडा कारबाही नभए आक्रमणका घटना दोहोरिरहने भएकोले कुनैपनि राजनीतिक दलको आडमा स्वास्थ्यकर्मीमाथिको आक्रमण क्षम्य नहुने बताए ।

भेरी अस्पतालमा पछिल्लो तीन सातामा चौथो पटक आफ्नो काममा खटिएका नर्स तथा चिकित्सकमाथि भौतिक आक्रमण भएको छ तर हालसम्म एकजना दोषीलाई पनि कारबाही हुन नसक्नु दुःखद भएको उनको भनाइ छ ।

आक्रमणकारीविरुद्ध मुद्दा दर्ता

नेपालगञ्जस्थित भेरी अस्पतालमा काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी निवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारको क्रममा गत बिहीवार रातीे मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावत र लोकराज रावत लगायतको समूहले उपचारमा खटिएका डाक्टर तथा नर्समाथि आक्रमण गरेको थियो ।

बिहीबार राती नै प्रहरी नियन्त्रणमा रहेका मृतकका भाइ मानबहादुर रावत र छोराहरू भरत रावत र लोकराज रावतलाई शुक्रवार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए।

कोरोना सङ्क्रमित विरामीको मृत्यु भएपछि उनीहरुले उपचारमा रहेका डाक्टर र नर्सको घाटी अठ्याउनुका साथै लखेटी लखेटी आक्रमण गरेका थिए । घटनापछि शुक्रवार दिनभर भेरीमा डाक्टर र नर्स आन्दोलनमा उत्रिएका थिए ।

आक्रमणकारीलाई मुद्दा दर्ता, अस्पतालमा सुरक्षा व्यवस्था मजबुत गराउने निर्णयपछि आन्दोलन रोकिएको छ । घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा समिति गठन भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।

छानविन समितिले बुझायो प्रतिवेदन

नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोमबार २५ पृष्ठको प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभावलगायतका समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए ।

उनका अनुसार छानविन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मीहरू, पीडक, घटनाका प्रत्यक्षदर्शी, बिरामीका कुरुवासँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा घटना हुनुको कारण, दीर्घकालीन समस्या समाधानको पाटोलाई पनि समावेश गरिएको छ ।

भेरी अस्पताल विकास समितिका दुईजना सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक, नेपाल चिकित्सक संघका दुई सदस्य, नर्सिङका तर्फबाट एक जना सदस्य रहने गरी समिति बनाइएको थियो ।

सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मी

बाँकेमा कार्यरत चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरु ‘जेल विथआउट बेल’ को मागसहित मौन आन्दोलनमा छन् । अस्पतालमा निरन्तर बिरामीको सेवामा खटिदा समेत कैयौँ पटक स्वास्थ्यकर्मीहरु माथि कुटपिट र अस्पतालमा तोडफोडका घटना बढ्न थालेपछि स्वास्थ्यकर्मी सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

अस्पताललगायत स्वास्थ्य संस्थामा अपाराधिक क्रियाकलाप गर्ने जो कोही भएपनि कडा कारवाही गर्न अध्यादेशमार्फत कानून ल्याउन आवश्यक रहेको नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले बताए।

उनले यस्ता घटना पटक पटक नदोहोरिन ‘जेल विथआउट बेल’ आवश्यक रहेको बताउँदै अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण बनाउन सरोकारवाला निकायसँग माग गरे ।

भेरी अस्पतालमा बढाइयो सुरक्षा व्यवस्था

गत बिहीवार काममा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रहरी सुरक्षा बढाइएको छ ।

महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले उनीहरुको मनोबल खस्किन नदिन र सुरक्षाको प्र्र्र्रत्याभूति दिन शनिवार प्रहरी सुरक्षा थप गरिएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार, प्रहरी नायव निरीक्षकको नेतृत्वमा दुईजना प्रहरी सहायक निरीक्षक सहित २५जना प्रहरी भेरी अस्पतालमै बस्नेगरी पठाइएको छ । महामारीको अवस्था सामान्य रुपमा नआएसम्म प्रहरी सुरक्षा राखिने छ ।

प्रहरी बाहेक निजी सुरक्षाकर्मी पनि यसअघिदेखि नै भेरीमा परिचालित छन् । सात जना प्रहरी र २१ जना सुरक्षा गार्ड रहेको भेरीमा शनिबारदेखि थप सुरक्षाकर्मी बढाइएको हो । घटनाका बेला प्रहरी तथा निजी सुरक्षागार्डको प्रभावकारी भूमिका नदेखिएपछि थप सुरक्षाकर्मीको आवश्यकता महसुस गरिएको थियो ।

अस्पतालमा काममा खटिएका स्वास्थ्यकर्मी आक्रमणको घटनालाई लिएर सर्वत्र निन्दा गरिएको छ । घटनामा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएपछि स्वास्थ्यकर्मीहरुले आन्दोलन छोडेर काममा फर्किएका थिए । रासस