काठमाडौँ– नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान शुरु गरेको छ ।


ADVERTISEMENT


समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द खनाललगायत पदाधिकारीले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त सिलिन्डर मन्त्रालयमार्फत् अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुनेछ ।

समाजले वर्तमान सङ्कटपूर्ण अवस्थामा सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ । यस क्रममा जेठ ५ गते पशुपति क्षेत्रका बाँदरका लागि मनपर्ने भिजेको चना र पाउरोटीसहित सामग्री वितरण गरेको थियो । जेठ ४ गते असहाय गाईबाछा संरक्षण अभियानलाई समाजले रु १६ हजार बराबरको खाद्य सामग्री प्रदान गरेको छ ।

यसैगरी जेठ ३ गते गुहेश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षीलाई पाउरोटी वितरण गरिएको थियो । जेठ २ गते काठमाडौँ साँखुस्थित द्वन्द्व पीडित तथा अपाङ्ग समाजलाई रु २३ हजारको खाद्य सामग्री सहयोग प्रदान गरिएको थियो । सहयोग प्रदान कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, काठमाडौँ शाखा सदस्य विकास थापा, भगवान पुडासैनीसहित सहभागिता थियो ।

यस्तै २०७८ जेठ १ गते समाजले जोरपाटी चोकमा मास्क, स्यानीटाइजर वितरण गरेको थियो भने शान्ति समाज सिरहा शाखाले पनि सुरक्षाकर्मीलाई मास्क उपलब्ध गराएको थियो । काठमाडौँमा सम्पन्न सप्ताहव्यापी कार्यक्रमको संयोजन शान्ति समाजका महासचिव रामकृष्ण बरालले गरेका थिए ।

यसै क्रममा अक्सिजन प्लान्ट शीघ्र स्थापनार्थ ध्यानाकर्षण गराउँदै जेठ ४ गते शान्ति समाजको प्रतिनिधिमण्डलले गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेसँग छलफल गरेको थियो । बुटवलस्थित स्वास्थ्य प्रतिष्ठानका चिकित्सकसँग कोभिडसँग सम्बन्धित विषयमा छलफल गरिएको समाजले जनाएको छ । महामारीको यो समयमा अक्सिजनको खोजी र अन्य मानवीय सेवामा लागि रहने समाजको प्रतिबद्धता छ । रासस