काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।


ADVERTISEMENT


अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मिएका थिए।


ADVERTISEMENT

# # #


ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि मातालाई जीवित गरी मारेको कुरा अरुले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।

अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गरेका थिए। क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उनले जन्म लिएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गरेको थिए ।