काठमाडौँ – कोरोना संक्रमितको उपचार गरिरहेको राष्ट्रिय ट्रमा सेन्टरमा बिहीवार अक्सिजनको अभाव भयो । आईसीयूमा समेत अक्सिजन अभाव भएपछि अक्सिजन व्यवस्थापनमा स्वास्थ्यकर्मीलाई हम्मे हम्मे भयो । १०५ जना संक्रमितको उपचार गरिरहको ट्रमामा अक्सिजन अभाव भएपछि उपचारमा प्रभाव पर्यो ।


ADVERTISEMENT


ट्रमाका निमित्त निर्देशक डा. सन्तोष पौडेलले प्रहरीले अक्सिजन जफत गरेर लिएपछि अक्सिजनको अभाव भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा अक्सिजन अभाव भएपछिको दौडढुपबारे लेख्दै ट्रमाका लागि आउँदै गरेको अक्सिजन प्रहरीले जफत गरी लगेपछि आफू मर्माहत भएको बताएका छन् । उनले पुलिसको दादागिरीले उपचारमा समस्या भएको बताउँदै लेखेका छन्, ‘जीवनमा डाक्टर भएँ मानव जीवनलाई माया गरेँ आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिनँ माफ गर ।’


ADVERTISEMENT

# # #


डा. पौडेलले सामाजिक सञ्जालमा राखेको अनुभव

अत्यन्तै मर्माहत छु साथिहरू! 
साँझ ५:४९ बजे 
आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो 
‘सर, अक्सिजन सकिनै लाग्यो !’
‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४-४ घण्टामा दिने हैन र! 
‘हो सर, तर   ४ बजे आउनुपर्ने Gas अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’
मैले कम्पनिको owner सँग फोन गर्छु, ‘…..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त।’ 
‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’
ऊ-सर हजुरहरुलाई राखेको Oxygen Cylinder पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए। 
हामीले के भन्ने सर, जबरजस्ती गरेपछि!
म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन)
म; अब के हुन्छ? 
ऊ: हैन सर १० वटा पठइदिहाल्छु।
म: यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ?
ऊ-सर त्यो त म के भनुँ।
नि:शब्द !
त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ 
र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू? , बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस्!
उता:     ….. यस्तै हो ..  म बुझ्छु      …..!!
पिडा छ हजुर 
जीवनमा डाक्टर भएँ !
मानव जीवनलाई माया गरेँ।
आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु, 
मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर 
हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!