वीरगञ्ज– रौतहटको वाग्मती र लालबकैया नदीमा रहेको बाँध मर्मत नहुँदा रौतहटवासीमा डुबान समस्याको त्रास यथावत् रहेको छ ।


ADVERTISEMENT


उक्त दुवै नदी नियन्त्रण गर्न भारत सरकारले बनाएको बाँधहरु ठाउँठाउँमा भत्किएकाले समयमा सो नदीको बाँधको मर्मत हुन नसक्दा वर्षायाममा नदीको पानी बस्तीमा पसेर क्षति पुर्‍याउने डरले रौतहटवासीमा त्रास कायमै रहेको हो ।


ADVERTISEMENT

# # #


वाग्मती—लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका अनुसार, सो बाँधको समयमा मर्मत नहुँदा डुबान र क्षति हुने भन्दै करीब डेढ महिना अगाडि सो कार्यालयले अर्थमन्त्रालयसँग बजेट माग गरेको बताउँदै सो कार्यालयका प्रमुख अकलाख अहमद सिद्धिकीले भने, ‘वाग्मती नदीको बायाँतर्फ चार र दायाँतर्फ १० गरी १४ स्थानमा बाँध भत्किएको छ ।’

यसैगरी, पश्चिमी लालबकैया नदीको बायाँतर्फ सात र दायाँतर्फ आठ गरी १५ स्थानमा भत्किएकाले तत्काल मर्मत गर्नुपर्ने देखिन्छ । समयमा सो बाँध मर्मत नहुँदा वर्षामा रौतहट डुबानमा पर्ने त्रास रहेको त्यहाँका बासिन्दाको भनाइ छ । सो बाँध समयमा मर्मत गर्न सकिएन भने बाढीको बेला ठूलो समस्या निम्त्याउने त्यहाँका बासिन्दाको भनाइ छ ।

भारत सरकारले सन् १९८९ मा झण्डै साढे ३३ किलोमिटर बाँध बनाएको थियो । उक्त बाँधले बस्ती जोगाए पनि पछिल्लो समय सो बाँधको मर्मतसम्भार हुन सकेको छैन । पुरानो बाँध भएकाले कमजोर हुँदै ठाउँठाउँमा भत्किन थालेको छ । वाग्मतीदेखि पश्चिमको धरमपुरबाट सीमा क्षेत्रको १७ किलोमिटर बाँध समस्याग्रस्त रहेको छ । सो बाँध मर्मतसम्भार गर्न करीब रु. ४१ करोड ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

समयमा उक्त बाँधहरु मर्मतसम्भार नभएको खण्डमा वर्षायाममा रौतहटको लक्ष्मीपुर, बलुवा, धरमपुर, गम्हरिया, सग्रामपुर, गढी सिगारमन, गङ्गापिपरा, माघोपुर लगायतका दर्जनौँ गाउँ बाढीको जोखिममा पर्न सक्नेछन् । २०५० सालमा सो नदीमा बाढी आएपछि रौतहट डुबानमा परी धनजनको क्षति भएको थियो । सरकारले वर्षाअगावै भत्केका बाँधहरु मर्मतसम्भार गर्नुपर्ने माग सो क्षेत्रका बासिन्दाको रहेको छ । रासस