काठमाडौँ – देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै छ ।


ADVERTISEMENT


प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीमा उपत्यकाका भित्री भागका देवीदेवतासहित स्थानीयवासीलाई निमन्त्रणा गरिएपछि नवमी र दशमीका दिन पाहुनालाई स्वागत गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका तर्फबाट जात्रासम्बन्धी काम हेर्दै आउनुभएका वरुण खतिवडाले राससलाई जानकारी दिए । पाहुनालाई स्वागतसँगै आज र भोलि पूजा सामग्री तयार पार्ने कामसमेत गरिन्छ ।


ADVERTISEMENT

# # #


चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म पशुपति क्षेत्रमा यो जात्रा मनाइन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाश भैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरु जात्रा गर्ने परम्परा छ । जात्राको पहिलो दिन सोमबार बेलुकी पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरी उपत्यकाका प्रमुख देवीदेवतालाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरिएको छ ।

सोमबार बेलुकी ५ बजे पशुपतिनाथ मन्दिरमा भट्ट रामाकान्त भट्टले पूजा आराधना गरेपछि उाकै नेतृत्वमा उपत्यकाको भित्री भागका देवीदेवतालाई निमन्त्रणा गरिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले बताए । निमन्त्रणादेखि जात्राका सबै कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने कोषले जनाएको छ ।

निमन्त्रणा यात्रा पशुपति पश्चिम मूलढोकाबाट जयबागेश्वरी–ताम्रेश्वर–भण्डारेश्वर–ज्ञानेश्वर–नक्साल भगवती–कमलाक्षी–असन–हनुमानढोका–कुमारीघर–जैसीदेवल–लगन डबली–पचलीभैरव–यङ्गाल–मरु गणेश–नरदेवी–टेबहाल हुँदै पशुपतिस्थित वत्सलेश्वरी मन्दिरमा पुगेर निमन्त्रणा सकिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए ।

जात्रा सम्पन्न गर्न कोषले सञ्चालक परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले कोरोना महामारीलाई ध्यान दिँदै व्यवस्थित जात्रा गर्ने तयारी गरेको उनले बताए । सोमबारको निमन्त्रणालाई दुदु च्याँ च्याँ भनिन्छ । चैत्रकृष्ण एकादशीदेखि बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको विशेष पूजा आराधना शुरु हुन्छ । देशको उद्धार गर्ने सङ्कल्पले लिच्छविकालमा शुरु भएकाले यसलाई देशोद्धार पूजा एवं जात्राको नाम दिइएको हो ।

चैत्रकृष्ण अष्टमीका दिन निम्ता गरेपछि ती देवीदेवताका साथै त्यस क्षेत्रका स्थानीयवासी पनि पशुपतिमा जात्रा हेर्न आउँछन् भन्ने विश्वास प्राचीनकालदेखि रहँदै आएको छ । जात्राको मुख्य दिन चैत २९ गते बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको रथ निकालिन्छ । रथलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाइन्छ ।

यो जात्रामा पशुपति क्षेत्रमा बसोवास गर्ने नौवटै जातिका मानिस उपस्थित हुनुपर्ने प्राचीनकालदेखिको नियम छ । तीमध्ये एउटा जातिमात्र उपस्थित नभए पनि जात्रा नहुने नियम छ । गत वर्ष पनि कोरोना महामारीका कारण दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा सम्पन्न गरिएको थियो । यस वर्ष पनि कोरोनाको जोखिम कायमै रहेकाले सोमबारदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा शुरु गरिएको छ ।

प्राचीनकालदेखि नै उपत्यकामा देशोद्धार पूजा एवं जात्रापछि नै सेतो मच्छेन्द्रनाथ, रातो मच्छेन्द्रनाथ, साँखु बज्रयोगिनी, गोकर्णेश्वरको कान्तिभैरवलगायत जात्रा हुने भन्ने विश्वास गरिँदै आएको छ । रासस