तिहारको पाँच दिनमा १५ लाखवटा फूलका माला खपत हुने व्यवसायीले जनाएका छन् । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवद्र्धन पूजा र भाइटीकाको प्रत्येक दिन फूल र मालाको खपत उच्च हुने गरेको छ । पाँचवटै पर्व फूल र मालाको माग उच्च हुने कारण व्यववसायी र कृषकले सोही दिनलाई लक्षित गरी बजारमा आपूर्ति गर्दै आएको फ्लोरिकल्चर एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिलीप बादेले बताए । ‘यो वर्ष पनि माग बढेर १५ लाख आवश्यक पर्ने अनुमान छ र सोही आधारमा आपूर्ति भइरहेको छ,’ उनले भने । तिहारमा सबैभन्दा बढी सयपत्री माला ११ लाख खपत हुने व्यवसायीको अनुमान छ । त्यसपछि ३ लाख मखमली र १ लाख माला गोदावरीलगायत अन्य फूलको खपत हुन्छ ।


ADVERTISEMENT


बादेका अनुसार मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर छ । तर, सयपत्री भने भारतबाट आयात हुने गरेको छ । तर, क्रमिक रूपमा आयात परिमाण घट्दै गएको उनले बताए । ‘सरकारसँग मिलेर सयपत्रीमा आत्मनिर्भर कार्यक्रम सुरु गरी उत्पादन बढाउन थालिएको छ,’ उनले भने, ‘त्यसैले भारतबाट आयात हुने सयपत्रीको परिमाण घट्दै गएको छ ।’
१० वर्षअघि भारतबाट सयपत्रीको फूल र माला ९० प्रतिशत आयात हुने गरेको थियो । यो वर्ष करिब १० प्रतिशत मात्रै माला आयात भएको उनले बताए । सहरी क्षेत्रका उपभोक्तालक्षित गरी सहरको आसपासमा फूल खेती गरेर मागअनुसार आपूर्ति गरिरहेको
उनले बताए ।
३ लाख सयपत्री भारतबाट आउने


ADVERTISEMENT

# # #


११ लाख सयपत्री माला खपत हुने अनुमानअनुसार करिब ३ लाख माला भारतबाट आयात हुनेछ । काग तिहारबाटै भारतीय फूलको माला बजारमा देखिएको उनले जानकारी दिए । खासगरी कालिमाटी बजारमा १० वटाको १ हजार २ सय रुपैयाँका दरले भारतीय मालाको व्यापार भइरहेको छ । यस्ता माला तुलनात्मक रूपमा लामा छन् । ‘घरको ढोका, कार्यालयलगायत सजाउन उपयोगी हुने लामो माला भारतबाट ल्याइएको हो,’ कालिमाटीको सडकमा राखेर माला बिक्री गरिरहेका एक व्यवसायीले भने ।
स्वदेशमा उत्पादित सयपत्री फूल र माला लक्ष्मीपूजाबाट बजारमा धेरै उपलब्ध हुने गरेका छन् । स्वदेशी माला र फूल तुलनात्मक रूपमा सस्तो पर्ने व्यवसायीले बताएका छन् । यसपटक तिहार कात्तिकको पहिलो साता नै परेका कारण सयपत्री राम्ररी फुल्न नपाएको बादेले बताए । ‘नर्सरी र किसानले बारीमा लगाएको सयपत्री राम्ररी फुल्न नपाउँदै तिहार आएका कारण पनि भारताबाट केही बढी माला आयात हुने देखिन्छ ।’
मखमली माला बिदेसिन्छ
मालामा मात्रै प्रयोग हुने मखमली विदेश निर्यात हुने गरेको छ । लामो समयसम्म नओइलिने र तिहारको मालाका लागि बढी प्रयोग हुने कारण मखमलीको महत्व बढ्दै गएको व्यवसायीले बताए । ‘विदेशमा रहेका नेपालीले तिहारमा भाइटीका लगाउँदा स्वदेशबाट मखमली माला मगाउने गर्छन्,’ उनले भने, ‘त्यसैले थोरै मात्रामा भए पनि मखमली निर्यात हुने गर्छ ।’ पछिल्लो समय सहरी क्षेत्रमा सयपत्रीभन्दा मखमलीको माला बढी प्रयोग हुन लागेकाले उत्पादन पनि बढाउनुपरेको बादेले जानकारी दिए । – नयाँ पत्रिकाबाट