खोटाङ– प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन अनुगमन गरेकी छिन् ।


ADVERTISEMENT


सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु. सात करोड ३६ लाख २१ हजारको लागतमा निर्माण सम्पन्न गरिएको तीन तले आरसिसी भवन आज उनले अनुगमन गरेकी हुन् । अनुगमनमा पुगेकी मन्त्री राईले भवन सञ्चालनका लागि आवश्यकपर्ने उपकरण, खानेपानीलगायत अत्यावश्यकीय सामग्री तत्काल व्यवस्थापन गर्ने बताइन् ।


ADVERTISEMENT

# # #


निर्माण सम्पन्न भवन नयाँ वर्षको अवसर पारेर वैशाख–१ गतेसम्ममा आवश्यक कर्मचारीको व्यवस्थान गरेर सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका निमित्त अजयकुमार प्रमुख झाले जानकारी दिए ।

भवनको पहिलो तलामा १२ कोठा, दोस्रो तलामा हलसहित पाँच कोठा र तेस्रो तलामा दुई आवास गृहसहित आठ कोठा रहेको र आगलागी हुन नदिनका लागि प्रत्येक कोठामा फाएर फायरस्टिङ्गरसमेत जडान गरिएको छ । विसं २०५५ मा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको खोटाङको कार्यालय अहिलेसम्म दिक्तेल बजारस्थित भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।

भवन निर्माणका लागि स्थानीय पदमप्रसाद आचार्य, परशु आचार्य र मीना आचार्यले एक रोपनी पाँच आना, दृपनारायण आचार्यले चार आना, टङ्कप्रसाद आचार्यले एक रोपनी, रामप्रसाद आचार्यले चार आना, बोलराज आचार्यले दुई आना र स्थानीय बासिन्दाले सङ्कलन गरेको चन्दाबाट खरीद गरिएको एक रोपनी एक आना जग्गा खरीद गरिएको थियो ।

भवन अभावमा कार्यालय सञ्चालनमा समस्या झेल्दै आएको आयुर्वेदका लागि आफ्नै सुविधा सम्पन्न भवन बनेपछि सहज हुने अपेक्षा गरिएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका अधिकांश योजनाका काम तोकिएको मितिमा सम्पन्न नभइरहेको अवस्थामा प्रतिष्ठा कन्ट्रक्सन प्रालिका प्रतिनिधि भीषण राईले समयअवधि अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका थिए । दश स्थानीय तह रहेको जिल्लामा अधिकांश भौतिक पूर्वाधार निर्माणका योजनामा ठेकेदार कम्पनीको लापरवाहीका कारण योजना अलपत्र परेका छन् ।

यसैबीच, कोदोको रक्सीलाई ‘ब्याण्ड भर्सेज ब्राण्ड’को थालेका सामाजिक विकासमन्त्री राईलाई वडा कार्यालय बुइँपा र खोटाङ उद्योग वाणिज्य सङ्घले रक्सी उपहार प्रदान गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोको लोकल रक्सीलाई कानूनी रुपमा वैधता दिएर व्यवसायीकरण गराउन माग समेत गरिएको छ ।

वडाबासी र वाणिज्य सङ्घले प्रदान गरेको तीनपाने रक्सी ग्रहण गर्दै उनले कोदोको रक्सी उत्पादनलाई व्यवसायिक तथा घरेलु उद्योगको रुपमा विकास गर्न पहल थालेको बताएकी छिन् । प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत सकारात्मक रहेकाले कोदोको रक्सीलाई वैधता दिने अभियानले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गरिन् ।

मन्त्री राईले साना उद्योगका रुपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरुपमा बैधता दिने प्रबन्ध मिलाउनुपर्ने बताउँदै आएकी छिन् । खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचना समेत गरेकी थिइन् ।

विसं २०६४ मा एमालेको तर्फबाट तत्कालीन संविधानसभा सदस्य रहँदा राईले अंश र वंशमा महिलाको समान अधिकार स्थापित गराउन, आमाको नामबाट नगरिकता प्रदान गर्ने मुद्दामा भूमिका निर्वाह गरेकी थिइन्।

संविधानसभामा अन्तरपार्टी महिला सांसद समूह (ककस)को संयोजक बनेकी उनी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद भएकी थिइन् । रासस