काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । ओलीले एमाले महासचिव ईश्वर पोखरेलमार्फत सोधेको स्पष्टीकरणको मंगलबार नेता पाण्डले ९ पृष्ठ लामो जवाफ फर्काएका हुन् ।


ADVERTISEMENT


जवाफमा नेता पाण्डले आफूलाई लगाएका आरोप ओली आफैतिर फर्किएको बताएका छन् । आफू विरुद्ध लक्षित निन्दात्मक भाषा र अर्थले स्वयं ओलीकै व्यक्तित्व, अध्ययन, विवेक र संस्कारलाई देखाएका उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


“‘पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको’, ‘पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे/गराएको’, ‘अवाञ्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको/उक्साएको’, ‘अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहित विपरित काम गरे, गराएको’ आदि जस्ता आरोप लगाउनुभन्दा अगाडि तपाईं आफै लज्जित हुनुपर्ने हो ।” नेता पाण्डले भनेका छन्, “म त तपाईंलाई आग्रह गर्न चाहन्छु तपाईंले लगाउनु भएको आरोपमा उभिएर तपाईं आफलाई मुल्यांकन गर्नुहोस् ।”

पार्टी भित्रका फरक विचारलाई समाधान गर्न वैज्ञानिक तरिका अपनाउनुको सट्टा सँधै गुटमा रमाउनले र अरुको विचारलाई पनि गुटगत विचारको रुपमा हेर्ने ओलीको दृष्टिकोणले पार्टी र देश कसैलाई पनि फायदा नपुर्याउने उनले बताएका छन् ।

अहिले पार्टीमा ‘म’ र ‘मेरो पद’ भन्ने धारणा नै विचारधारा बन्दै गएको बताउँदै उनले भनेका छन्, “जस्तो सुकै अयोग्य भए पनि आफ्नो गुटको सदस्यको संरक्षण र आफ्नो गुटमा नलाग्नेका विरुद्ध साम–दान–दण्ड–भेदको प्रयोग नै राजनीति हुँदै गएको छ र गुटको व्यवस्थापन संगठनात्मक सिद्धान्तका रुपमा स्थापित हुँदैछ । नवौँ महाधिवशनको निर्णयअनुसार योग्य नेता पाएकोभए यो पार्टीमा आज भैरहेको भाँडभैलो हुँदैनथ्यो ।”

नवौँ महाधिवेशनका निर्णयका आधारमा पार्टीलाई पुनर्गठित गर्न तयार हुने नेता पाण्डले ओलीलाई आग्रह गरेका छन् । अनेक कार्य र सरकारको असफलतापछि संसद विघटनजस्तो असम्वैधानिक कदम चालेका प्रधानमन्त्री ओली त्यतिले नपुगेर पार्टी विभाजन गर्न खोज्नु रहस्यपूर्ण रहेको उनले बताएका छन् ।