काठमाडौँ – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्माओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उपमहासचिव भुसालले मंगलबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई ११ पृष्ठ लामो जवाफ दिएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले महासचिव ईश्वर पोखरेलमार्फत नेता भुसाललाई चैत ८ गते स्पष्टीकरण सोधेका थिए । जवाफमा नेता भुसालले ओलीले आफूमाथि लगाएका आरोप बनावटी, किर्ते र दूराशयपूर्ण रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री ओलीले कंगारु अदालतको अध्यास गर्ने खोजेको बताँदै जवाफमा भनेका छन्, ‘पार्टी कार्यालयबाट प्रेषित औपचारिक पत्रको भाषा, त्यसको गूढार्थ र तपाईँले अपनाएको प्रक्रियाले तपाईँ के गर्न खोज्दै हुनुहुन्छ भन्ने स्पष्ट छ । नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियाजित रुपले लक्ष्यित तथाकथित न्यायिक प्रक्रियालाई कंगारु अदालत भनिन्छ । तपाईँले मागेको तथाकथित ‘स्पष्टीकरणसहित लिखित जवाफ’ ले तपाईँ त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ ।’

तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनमा आफ्नो कुनै संलग्नता नभएको प्रस्ट पारेका छन् । आफूविरुद्धको प्रचार सामग्री बनाउन उक्त कथा बुनिएको र त्यो आफ्नाविरुद्धको निवस्त्र षड्यन्त्र रहेको उनले बताएका छन् ।

कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?

उपमहासचिव भुसालले ओली अरुको इशारामा चलेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘पार्टीको नवौँ महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को कार्यक्रमिक सोच अगाडि सारेको थियो । निर्वाचनमा वाम गठबन्धनले घोषणापत्र जारी गरेको थियो । तपाईँ सरकारको नेतृत्वमा आएपछि सरकारका आजसम्मका नीति–कार्यक्रम र बजेटहरु पार्टीका ती सोच र घोषणाविपरीत दिशामा गए । सरकारमा जुन शक्ति र सामथ्र्यका साथ हामी गएका थियौँ त्यसको नेतृत्व गर्न तपाईँ असफल हुनुभयो । सरकारका विधेयकहरु विवादित भए, मन्त्रीहरु विवादित भए, अनेक काण्डमा तपाईँको भूमिका अनुचित रह्यो, विदेश नीतिमा तपाईँ अवसरवादी हुनुभयो, राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत तपाईँले निजी मामिला बनाउनुभयो, सुशासनलाई तपाईँ आफैले लज्जित पार्नु भयो, सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रुपमा दुरुपयोग गर्नु भयो, कैयन् अधिकारहरु आफ्नो हातमा लिनु भयो तर तिनको दुरुपयोग गर्नुभयो, यस्ता अनेक असफलतापछि संसद विघटनजस्तो अवैधानिक कदम चाल्नुभयो । यी सबै अपयशको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो, त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ? तपाईँ अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’

तपाईं अध्यक्ष रहिरहने अरुलाई हटाउने ?

यस्तै नेता भुसालले ओलीकै कारण पार्टी वैचारिक, सैद्धान्तिक, राजनीतिक र सांठानिक हिसाबले विसर्जनतर्फ गइरहेको दाबी गरेका छन् । सर्वोच्च अदालतको आदेश विपरित पार्टीका पदाधिकारीलाई पदमसुक्त गरेर आफू मात्रै पदमा बसेको भन्दै उनले भनेका छन, ‘तपाईँ स्वयं नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट चुनिएको हुँदा आजको पुनर्जीवित नेकपा (एमाले) को अध्यक्ष हुने तर त्यसै गरी विधिवत् निर्वाचनबाट आएका केन्द्रीय कमिटीका पदाधिकारीहरु, जिल्ला वा स्थानीय तहका अधिवेशनबाट आएका पदाधिकारी तथा सदस्यहरु र जनसंगठनका सदस्य र पदाधिकारीहरु किन नहुने? यति स्पष्ट आधारलाई समेत मिल्काएर तपाईँ पार्टीलाई कहाँ लान खोज्दै हुनुहुन्छ ?’

भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ

सत्ता र शक्तिको भोगको हिसाबले ओलीले पाउन बाँकी केही नरहेको र पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गरेको र त्यही अनुपालमा पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै गएको आरोप उपमहासचिव भुषलले लगाएका छन् ।

व्यक्तिवादको नशाबाट ब्यूझिँन आग्रह गर्दै उनले ओलीलाई उनले भनेका छन्, ‘अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकि छन् जसमा आउने पीँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जिवित गर्न सक्छन् । मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’

यस्तो छ भुसालको जवाफ