काठमाडौँ – रिपोर्टर्स क्लबको २३ औँ वार्षिकोत्सवको अवसरमा १२ पत्रकारलाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको छ ।


ADVERTISEMENT


यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदी र रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साललाई सम्मानित गरिने भएको छ । आज काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सुवेदी र लम्साललाई उक्त पुरस्कार वितरण गर्न लागिएको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।


ADVERTISEMENT

# # #


मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गर्ने निर्णय भएको क्लबले जनाएको छ । उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।

४० हजार राशिको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई, २५ हजार राशिको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गर्न लागिएको छ ।

यसैगरी उमा सिँग स्मृति पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उपसम्पादक विनु सुवेदी, सहिद जंगप्रकाश शाह स्मृति पुरस्कार नागरिक दैनिकका बालकृष्ण अधिकारी, वीरेन्द्र शाह स्मृति पुरस्कार एबीसी टेलिभिजनका उपसम्पादक अनन्त अनुरागलाई प्रदान गर्ने निर्णय भएको छ ।

उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राससका जीवन भण्डारी, डिसी नेपालका मदन कोइराला र प्राइम टाइम्सका दीपक अर्याललाई दिन लागिएको छ भने बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट रिपोर्टर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मान गर्न लागिएको जानकारी क्लबले दिएको छ ।