काठमाडौँ– भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ५८ हजार ६५६ घरको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार, निर्माणाधीन घरको सङ्ख्या एक लाख ४२ हजार ८६३ रहेका छन् ।


ADVERTISEMENT


निजी आवास पुनःनिर्माणको तथ्याङ्क अद्यावधिक गर्ने निकाय शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको सङ्ख्या दुई लाख एक हजार ५१९ पुगेको छ ।


ADVERTISEMENT

# # #


दशैँ–तिहारका कारण निर्माण सम्पन्न र निर्माणाधीन घरको सङ्ख्या प्राधिकरणको सूचना प्रणालीमा समाविष्ट हुन बाँकी रहेका कारण यो तथ्याङ्क अझै बढ्ने प्राधिकरणका इञ्जिनियर प्रवीण आचार्यले जानकारी दिए।

प्राधिकरणले निजी आवास अनुदानका लागि समय सीमा निर्धारण गरेपछि घर बन्ने प्रक्रिया तीव्र भएको छ । “जिल्लास्थित कार्यालय, जिल्ला कार्यान्वयन एकाई र स्थलगत अध्ययनबाट आगामी पुस मसान्तसम्ममा निर्माण सम्पन्न र निर्माणधीन घरको सङ्ख्या तीन लाख ५० हजार पुग्ने देखिएको छ”, उनले भने ।

प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको पछिल्लो बैठकको निर्णयानुसार प्राधिकरणले पहिलो किस्ता लिइसकेका लाभग्राहीले आगामी पुस समान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने समय तालिका निर्धारण गरेको छ । अहिलेसम्म प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै १८ हजार ८७२ घर निर्माणाधीन अवस्थामा छन् भने छ हजार १७५ घर निर्माण सम्पन्न भइसकेका छन् ।

जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न कतिपय घरको प्राविधिक निरीक्षण गरेर तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ । तिहारपछि उक्त तथ्याङ्क सूचना प्रणालीमा दर्ता भएपछि यो सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने प्राधिकरणले जनाएको छ ।

समन्वय अभावका कारण किस्ता वितरणमा ढिलाइ

लाभग्राहीलाई घर निर्माणका लागि रकम अभाव नहोस् भनी प्राधिकरणले अग्रिम रुपमा बजेट जिल्ला पठाए पनि कोष तथा लेखा नियन्त्रक कार्यालय र बैंकहरुको समन्वयको अभावमा अनुदान रकम वितरणमा तीव्रता आउन सकेको छैन ।

प्राधिकरणले रु ५३ अर्ब बजेट अनुदान किस्ता वितरणका लागि भूकम्प प्रभावित जिल्लामा पठाएको छ । प्रक्रियागत झञ्झट र जिल्लास्थित निकाय बीचको आपसी समन्वयमा देखिएको कमजोरीका कारण रकम वितरणमा ढिलाइ भएको हो । प्राधिकरणले नतिजामुखी भएर लाभग्राहीलाई जतिसक्दो छिटो अनुदान किस्ता वितरण गर्न जिल्लाका सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ता पाउनका लागि एक लाख चार हजार ७४२ लाभग्राहीले निवेदन दिएका छन् । यसमध्ये ९३ हजार ३०५ लाभग्राहीको निवेदन प्रमाणीकरण भइसकेको इञ्जिनियर आचार्यले बताए । पूर्णप्रसाद मिश्र/रासस