नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका केन्द्रिय महासचिव भूपेन्द्र जंग शाहीसंग गरिएको छोटो कुराकानी


ADVERTISEMENT


चुनाव नजिकिँदै छ । राजनीतिक वातावरण पनि एक हिसाबले अघि बढिरहेको छ । यसलाई कसरी हेरिरनुभएको छ ?


ADVERTISEMENT

# # #


देश अहिले निर्वाचनमय भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनिसकेपछि झण्डै २० वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन पनि सम्पन्न भयो । मधेशमा चुनाव हुन्न कि भन्ने खालको शंका थियो । तर कांग्रेस पार्टीको जिम्मामा देश आइसकेपछि मधेशी दलहरुलाई पनि सहमति गराएर मुलूकलाई राजनीतिक निकासतिर अगाडी बढाइरहेको छ । अहिले पनि प्रदेश र संघको निर्वाचन हुन्छ या हुँदैन् भन्ने मानिसमा आशंका भएपनि हामी चुनावको नजिक पुगिसकेका छौँ । अब चुनाव नहुने कुरा सम्भव छैन । त्यसैले यो पनि एक किसिमको खुसीको कुरा नै हो ।

अब चुनावको बेला पार्टीहरुको बीचमा एकता हुनु वा तालमेल हुनु धेरै ठूलो र अनौठो कुरा पनि होइन । यो जुन बाम एकताको कुरा आइरहेको छ । त्यसमा एमाले र माओवादी कम्युनिस्ट हुन् कि होइनन् भन्ने कुरामा पनि शंका छ । विप्लव र वैद्य जसले आफूलाई शुद्ध कम्युनिस्टको दाबी गरिरहेका छन् । एमाले र माओवादी कम्युनिस्ट या लोकतान्त्रिक पार्टी हुन् भन्ने ठेगान छैन । ती ठेगान नभएका पार्टीबीच एकता हुँदा नेपाली कांग्रेसले डराउनु पर्छ जस्तो मलाई लाग्दैन । पार्टीभित्रको एकतालाई थप मजबुत बनाउनका लागि पनि नेपाली कांग्रेसमा एउटा नयाँ अवसर पनि आएको छ । यो परिस्थितिमा नेपाली कांग्रेसका नेता कार्यकर्ता एकतावद्ध भएर उच्च मनोबलका साथ अगाडी जानु पर्छ ।

संसारमा लोकप्रिय भएको लोकतान्त्रिक शासनलाई नेपाली कांग्रेसले अंगालेको छ । संसारबाटै समाप्त भइसकेको कम्युनिस्ट विचारलाई नेपालमा लागू गर्छ भनेर कसैले दिवा सपना नदेखेकै राम्रो हुन्छ । त्यो भएर तरुण दलका सबै साथीहरुलाई निर्वाचनमा अलि बढी परिचालित हुन म आग्रह गर्छु ।

उम्मेद्वारी छनोटदेखि लिएर निर्वाचनका तयारीसम्ममा नेपाली कांग्रेसले कसरी अगाडी बढ्नुपर्छ ?

निर्वाचनमा मुख्यतः जिल्लाको सिफारिसलाई नै आधार मान्नु पर्छ । केन्द्रको भन्दापनि जिल्लाको पार्टी, त्यहाँका जनताको चाहाना के छ त्यो अनुसार केन्द्रले गर्नुपर्यो । टिकट बाँड्दा गुटको नभइ चुनाव जित्न सक्ने र त्यस क्षेत्रका जनताको हितमा काम गर्नसक्ने राम्रो मान्छे हेर्नु पर्छ । त्यो भयो भने पार्टीलाई जित्न समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।

आउँदै गरेको निर्वाचनमा तपाईँको भूमिका के हुँदैछ ?

म त २०७० सालमा संविधान सभाको चुनावमा उठेर हारिसकेको मानिस हो । त्यसबेला जनताको सेवा कम भएर होला म जित्न सकिँन । तर अहिले झण्डै चार वर्ष बितेको छ । यो बीचमा चुनाव हारेर पनि जित्ने मान्छे भन्दा केही बढी गर्ने प्रयास गरेको छु । कालिकोटको विकासका लागि, कालिकोटको समृद्धिका लागि, कालिकोटको परिवर्तनका लागि, त्यहाँको समाज रुपान्तरणका लागि सधैँ नै मैँले तत्पर भएर काम गरेको छु । मेरो कामको परिक्षण, मुल्याङ्कन गर्नेबेला आएको मैले महशुस गरेको छु । त्यसैले यो पटक म प्रतिनिधि सभाको लागि चुनाव लड्छु ।

प्रतिनिधि सभाको निर्वाचनका लागि उठ्दैछु भन्नु भयो । कालिकोट पनि देशको एक दुर्गम तथा पिछडिएको जिल्ला हो । कालिकोटको विकासका लागि त्यहाँका जनताहरुलाई के भन्न चाहानुहुन्छ ?

व्यक्तिगत ढंगले सांसद हुने अनि मन्त्री हुने मेरो अभियान होइन । मैले खोजेको कालिकोटको परिवर्तन हो । समृद्धि अनि रुपान्तरण हो । त्यसैले हामीले सुन्दर कालिकोट अभियान सुरु गरेका छौँ । प्राकृतिक सुन्दरताले भरिएको जिल्ला कालिकोट हो र प्राकृतिक स्रोत साधनले पनि सम्पन्न जिल्ला हो । त्यसको पहिचान हुन नसक्दा र आवश्यक लगानी भित्र्याउन नसक्दा हामी बत्तिमुनीको अध्याँरो भएर बसेका छौँ । कालिकोटको समृद्धिको दिन आउँदैछ । हामी सबै पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर यो पटक कालिकोटको मुहार फेर्नका लागि जनताहरुले मलाई मौका दिनु पर्यो भन्ने मेरो आग्रह छ ।

अबको ६/७ वर्षभित्रै कालिकोटलाई यो देशकै नमूना जिल्ला बनाउने मेरो अभियान रहेको छ । त्यो अभियानमा कालिकोटका युवा, दलित, महिला, मजदुर, शिक्षक, पत्रकार लगायत कालिकोटका सम्पूर्ण आमाबुबा तथ दाजुभाईको सहयोग हुने म अपेक्षा गर्दछु ।