भिमबहादुर रावल, मान्म– कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ । सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो ।


ADVERTISEMENT


हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले शल्यक्रियासहितको विशेषज्ञ सेवा शुरु गरिएको छ ।


ADVERTISEMENT

# # #


नेपाल सरकारले हरेक स्थानीय तहमा १५ शैय्याको अस्पताल बनाउने योजनासहित अस्पतालको शिलान्यास भएपछि गाउँमा नै विशेषज्ञ सेवा दिन शुरु गरेको हो । गाउँमा पहिले ज्वरो आउँदा सिटामोलसमेत नपाइने गरेको अहिले गाउँमा नै चिकित्सकसहित विशेषज्ञ सेवा सञ्चालन आएपछि सजिलो भएको पलाँता गाउँपालिका ९ का राजबहादुर बमले बताए। ‘पहिलो औषधि नाममा सिटामोलसमेत पाइँदैनथ्यो । जडीबुटी र धामीझाँक्रीको भर पर्नुपथ्र्याे; उनले भने; ‘अहिले गाउँमा डाक्टरसहितको विशेषज्ञ सेवा सञ्चालन आएपछि सहज भएको छ ।’

गाउँ जटिल खालका बिराम लागेर बसेकाहरुले अहिले औषधि उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा आउन थालेको र गाउँ नै शल्यक्रियासहितको उपचार हुन थालेको स्थानीय नरबहादुर रोकायाले जानकारी दिए । ‘घाउ खटिरा आउँदा पनि उपचार पाएका थिएनौँ, अहिले गाउँमा नै विभिन्न रोगको सहजै उपचार पाउने गरेका छौँ ।’

सामान्य बिरामी हुँदा सिटामोलसमेत नपाउने गरेको ठाउँमा अहिले विशेषज्ञ सेवा सञ्चालन गरिएको पलाँता अस्पतालका डा. विजयकुमार महतोले बताए । ‘दुर्गम ठाउँ भएकाले यहाँका स्थानीयवासीले सिटामोलसमेत पाउने गरेका थिएनन् । अहिले जटिलखालका बिरामीको शल्यक्रिया गर्न थालेका छौँ; उनले भने ।

विगतमा सामान्य ज्वरो आउँदा पनि जिल्ला सदरमुकाम मान्म र बाहिरी जिल्लामा जानुपर्ने बाध्यता अहिले हटेको स्थानीयवासी रामबहादुर बिकको भनाइ छ । उनका अनुसार, सामान्य बिरामी हुँदा पनि हामीले दशौँ हजार रुपैयाँ खर्च गरेर दुईतीन दिन हिँडेर जानुपर्ने बाध्यता थियो । ‘अहिले गाउँमा नै डाक्टर’साब पाउँदा खुशी लागेको छ; प्रफुल्लित मुद्रामा उनले भने ।

देशमा तीन तहका सरकार बनेको अहिले गाउँमा नै चिकित्सक देख्न पाउँदा साँच्चै गाउँमा सिंहदरबार आएको अनुभूति भएको स्थानीय करवीर बमको भनाई छ । उनी भन्छन्; ‘हिजो गाउँमा सिंहदरबार आयो भनियो । के आयो के आयो सोचेको थिए । अहिले गाउँमा नै औषधि उपचारका लागि डाक्टर देख्दा गाउँमा नै सिंहदरबार आएको अनुभूति भएको छ ।’

गाउँपालिकाले स्वास्थ्य शिक्षामा पछाडि परेको गाउँपालिकालाई स्वास्थ्य सेवा, शिक्षालगायतका क्षेत्रमा पहुँच वृद्धि गर्ने उद्देश्यले काम गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जनाएका छन् । स्वास्थ्य क्षेत्रमा अहिले आमूल परिवर्तन गर्न नसके पनि गाउँमा विशेषज्ञ सेवासहित डाक्टर गाउँमा नै राखिएको उनले बताए । गाउँमा नै औषधि उपचार पाउन थालेपछि पलाँताका स्थानीयवासी उपचारका टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ । रासस