शेरबहादुर सिंह, महेनद्रनगर– चार दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला राउटे परिवारलाई छाक टार्न धौधौ भएको दुखेसो पोखेका थिए ।


ADVERTISEMENT


बन्दाबन्दीमा गाउँमा ज्याला मजदुरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको बताउँदै राउटे युवक मानसिंहले आफूहरु पनि जागिर खान इच्छुक रहेको जानकारी दिए । ‘गाउँमा ज्यालादारी गर्न नसकिएपछि केही दिन जङ्गलको कन्दमुललगायतको भरमा बाच्यौँ; उनले सुनाउँदै गए; ‘लोपोन्मुख भन्ने तर राहत भने सरकारले दिएन ।’


ADVERTISEMENT

# # #


उनले सरकारी निकायमा पियन पदमा भए पनि जागिर खाने मनसायमा रहेको बताउँदै राउटेले गाउँमा मजदुरी पाउन छाडेपछि चिन्तामा रहेको दुखेसो पोखे । ‘पहिले त दिनभरि काम गरेर बेलुका चामल किनेर लग्थेँ । कोरोना कम भए पनि गाउँमा मजदुरी भएन भने कसरी बाँच्ने?’

भीमदत्त ९ ब्रह्मदेव र खल्लामसेटीमा गरी पाँच परिवार राउटे समुदाय रहेका छन् । डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी आएका राउटे समुदायका लागि समाजमा कुनै खाले अवसर र सुविधा नरहेको अर्का नैनसिंह राउटेको दुखेसो छ । ‘हाम्रा छोराछोरी पढ्न सकेनन् । वन जति सामुदायिक वन भए अब परिवारको जोहो कसरी चलाउने? भन्ने चिन्ता भइरहन्छ; उनले भने । उनले सेनाको श्री नं २५ बाहिनी अड्डाबाट मिलेको चामल एक महिनासम्म खान पुग्ने बताए ।

आड महिनासम्म देशभर लकडाउन हुँदा त्यस अवधिभर एकपटक मात्रै राहत मिलेको उनको भनाई छ । त्यो बेला उधारोमा रासन किनेर खाएको बताउँदै उनले नैनसिंहले सरकारबाट पाउँदै आएको भत्ताले घरको केही हदसम्म खर्च टर्ने गरेको बताए । राउटे समुदायका युवायुवतीलाई आयमूलक काममा लगाउन सीपमूलक कार्यक्रम गाउँमा ल्याउनुपर्ने उनको भनाइ थियो । ‘अहिले हामी गाउँमा घर बनाउने काममा बढीजसो ज्यालादारी गरिरहेका छौँ । बन्दमा भारत गएर मजदुरी गर्ने अवस्था पनि भएन; उनले भने ।

भीमदत्त ९ का वडाध्यक्ष राम नाथले आफ्नो वडामा एक दर्जन राउटे परिवार रहेको जनाएका छन् । ‘शुरुमा चार परिवार थिए, सबै वनमा गएर काठका भाँडाकुँडा बनाएर किनबेच गर्थे । अहिले वनमा आश्रित छैनन्; उनले भने । उनले खुशी हुदैँ सङ्घीय सांसद विकास कोष र जनता आवास कार्यक्रमको साझेदारीमा सात परिवार राउटेलाई पक्की घर निर्माण गरिएको जनाए ।

‘अहिले पनि अरु बाँकी राउटेको घर बन्ने योजनामा छ । उनीहरुको रोजगारी भनेकै गाउँमा जाला मजदुरी गर्ने हो; उनले भने । राउटे परिवारका सदस्यले मासिक रु. तीन हजार भत्ता सरकारबाट पाउने गरेका छन् । रासस