चितवन– जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका १० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा. शङ्कर लौडारीका अनुसार, अस्पतालमा चौबीसै घण्टा मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, होल्टर मनिटर, एबीपिएम, इसिजी सेवा उपलब्ध छ ।


ADVERTISEMENT

# # #


यसैगरी मुटुको मांसपेशीमा पर्ने असरको इकोबाट अध्ययन गरिने स्टे«न इमेजिङ इको, डोबुस्टे«स इको, टिएमटीलगायतका सेवा अस्पतालले दिँदै आएको छ । अस्पतालमा मुटुसँग सम्बन्धित रहेर रेडियोलोजी तथा इमेजिङ सेवा र शल्यक्रियासमेत हुने गर्दछ । अस्पतालमा सिसीयू र आइसीयू सेवासमेत सञ्चालनमा ल्याइएको छ ।

अस्पतालमा छिट्टै क्याथल्याब सञ्चालनमा ल्याइँदैछ भने ओपनहर्ट सर्जरीको योजनासमेत रहेको डा. लौडारीले बताएका छन् । उनका अनुसार, वाग्मती प्रदेशमा गङ्गालाल हृदयरोग केन्द्रपछिको मुटुरोग अस्पतालका रूपमा यसलाई विकास गरिँदैछ । चितवनसहित छिमेकी जिल्लाका बिरामी यसबाट लाभान्वित हुने उनको भनाइ छ ।

विगत ११ वर्षदेखि मुटुरोग उपचारमा सक्रिय लौडारी र विगत १३ वर्षदेखि मुटुको उपचारमा संलग्न डा. मणिप्रसाद गौतमको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मीले अस्पताल सेवा दिँदै आएका छन् । अस्पतालका प्रबन्ध निर्देशक प्रभात शर्माका अनुसार, स्वदेशी र विदेशमा रहेका नेपाली गरी २४ जनाको लगानीमा अस्पताल सञ्चालनमा ल्याइएको हो । नेपाली चिकित्सक र स्वास्थ्यकर्मी पनि लगानीकर्ताका रूपमा छन् । हालसम्म रु १० करोड लगानी भएको भन्दै उनले सेवा विस्तार गर्दै जाँदा लगानी थपिँदै जाने बताए ।

अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामी राजधानी र विदेश जान नपर्ने गरी अत्याधुनिक सुविधासम्पन्न बनाउँदै लगिने शर्माको भनाइ छ । पच्चीस शैय्याको सो अस्पतालमा आठ चिकित्सकसहित ४५ जना कार्यरत रहेको अस्पतालका सूचना अधिकारी महेश पाण्डेले बताए । अध्यक्ष डा. लौडारीका अनुसार, मुटुरोगको कारकतत्वमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान, मद्यपान, मोटोपन, व्यायाम रहेका छन् । कतिपयलाई वंशाणुगतरूपमा पनि यो रोग देखिने गर्दछ ।

नेपालमा प्रति १० हजारमा ४०० देखि ५०० सम्मलाई मुटुरोग हुने गरेको अध्ययनले देखाएको लौडारीको भनाई छ । उनले भने; ‘वर्षको एकपटक मुटुको परीक्षण सबैले गर्नुपर्छ । समयमै रोगको पहिचान भएमा उपचार सहज हुने उहाँको भनाइ छ । मुटुसँग सम्बन्धित विशिष्ट विज्ञलाई समेत अस्पताल झिकाएर परीक्षण गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो । चितवन मध्यनेपालको मेडिकल क्षेत्रमा अग्रणी जिल्लाका रूपमा परिचित छ । यहाँ भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गर्दछन् । मुटुका लागि अलग्गै अस्पताल खुलेसँगै यस क्षेत्रका धेरै बिरामी लाभान्वित हुने देखिएको छ । रासस