चितवन– उद्योग सङ्घ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो ।


ADVERTISEMENT


सङ्घका अध्यक्ष राजु पौडेलले आफूले रु एक लाख राखेर कोषको शुभारम्भ गरेको बताएका हुन् । उनले कोषमा रकम जम्मा गरेअनुसार विपत् पर्दा छ महीनासम्म बिनाव्याज सहयोग गरिने जनाएका छन् । कोषमा जम्मा गरेको रकमको रु १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग छ महीनाका लागि गरिनेछ । यस्तो सहयोग अधिकतम रु. ५० लाखसम्म मात्रै उपलब्ध गराइने उनले जानकारी दिए।


ADVERTISEMENT

# # #


भूकम्प, आगलागी, बाढीपहिरो जस्तो विपत्ले उद्योग पूर्णरुपमा क्षति भई पुनःसञ्चालन गर्न सहयोग उपलब्ध गराइने छ । सङ्घका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार विपत् पर्दा तत्काल उद्योग सञ्चालन गर्न कठिन हुने भएकाले यस्तो व्यवस्था गरिएको हो । उनले भने; ‘नेपालमा पहिलोपटक हामीले यो अभियान शुरु गरेका छौँ ।’

अभियानलाई स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन् । हालसम्म कोषमा रु २० लाख जम्मा भइसकेको छ । कालिका र खैरहनी नगरपालिकाले रु पाँच/पाँच लाखको सम्झौता भइसकेको छ भने अन्य पालिकाहरुमा सम्झौताको चरणमा रहेको छ ।

सङ्घका उपाध्यक्ष योगराज ओस्तीले जिल्लाका २०० उद्योग यस अभियानमा तत्काल जोडिने अपेक्षा गरिएको बताए। उनले बीमाबाट र थप ऋण पाइनसकेका अवस्थामा तत्काल उद्योग सञ्चालन गर्न कोष प्रभावकारी हुने जानकारी दिए । उद्योगी र पालिका सकारात्मक रहेकाले कोष प्रभावकारी बन्ने उनको भनाइ छ ।

कोषबाट सहयोग लिने उद्योगले अनिवार्यरुपमा कोषमा रकम जम्मा गरेको हुनुपर्ने छ । यस्तो सहयोग रकम बीमाबाट पाएपछि पुनःकोषमै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । उद्योगी मदन पोखरेलले जिल्लामा विपत्का कारण वर्षेनी उद्योगमा क्षति हुने गरेको र कतिपय उद्योग तत्काल पूँजीको अभावमा सञ्चालन गर्न नसकेर बन्दै भएको अवस्थासमेत रहेको बताउनुभयो । जिल्लामा तीन हजारभन्दा बढी साना ठूला उद्योग रहेका छन् । तराईको ठाउँ भएकाले गर्मी मौसममा आगलागी र वर्षात्मा बाढी र डुबानको समस्या हुने गरेको छ । रासस