नवलपुर– नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले दोस्रो स्थापना दिवस ज्येष्ठ नागरिकसँग मनाएको छ । शाखाले मङ्गलबार वृद्धाश्रममा फलफूल वितरण गरी दोस्रो स्थापना दिवस मनाएको हो ।


ADVERTISEMENT


नवलपरासी जिल्ला दुई भागमा विभाजन भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा २०७५ फागुन १८ गते नेपाल पत्रकार महासङ्घ नवलपुर गठन गरिएको थियो ।


ADVERTISEMENT

# # #


विसं २०७५ फागुन १८ गते स्थापना भएको शाखाले दोस्रो स्थापना दिवसको अवसर पारी कावासोतीको पिठौलीमा रहेको लक्ष्मीनारायण बृद्धाश्रममा फलफूल वितरण गरेको थियो । दिवसका अवसरमा महासङ्घ नवलपुरका अध्यक्ष होमराज रानाभाटले श्रमजीवी पत्रकारको मुद्दामा महासङ्घ सधैँ एक भएर अघि बढ्ने बताए ।

श्रमजीवी पत्रकारका मुद्दालाई मूर्तरुप दिन सबैको साथ र एकता आवश्यक भएको भन्दै दोस्रो स्थापना दिवसले थप एकता र जनताको आवाज उठान गर्ने हौसला सबैलाई मिलोस् भन्दै उनले शुभकामना व्यक्त समेत गरेका छन् ।

स्थापना दिवसको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष दीपक भट्टराईले स्थापना दिवसको दिन वृद्धाश्रममा फलफूल वितरण गरिनुले समाजमा सकारात्मक कार्यको थालनी भएको उल्लेख गरे। सबै खाले नागरिकको मुद्दामा कलम चलाउने पत्रकारले आगामी दिनमा पनि समाज परिवर्तनका लागि कलम चलाउनेमा आफू विश्वस्त रहेको बताए ।

महासङ्घ नवलपुर शाखाले आफ्नो पहिलो स्थापना दिवस २०७६ फागुन १८ मा मध्यविन्दु–१ को शान्ति आधारभूत विद्यालय सेतापानीमा आवासीय रुपमा अध्ययन गरिरहेका अनाथ बालबालिकाका लागि खाद्यान्न सहयोग गरी मनाएको थियो । रासस