महोत्तरी– जिल्लाका बस्तीबस्तीबाट सम्भावनायुक्त क्रिकेट खेलाडी प्रतियोगिताका लागि छनोट गरिँदै छन् । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व. विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७७ का लागि अहिले बस्तीबस्तीबाट खेलाडी छनोट प्रक्रिया थालिएको हो ।


ADVERTISEMENT


जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहको सहभागिता गराइने प्रतियोगिताबाट अन्तर जिल्ला, प्रादेशिक र राष्ट्रिय प्रतियोगिताका लागि उम्दा खेलाडी छनोट हुने जिल्ला क्रिकेट सङ्घ महोत्तरीले अपेक्षा लिएको छ । यसपाली आउने चैत २२ गतेदेखि शुरु हुने अन्तरपालिकास्तरीय यो प्रतियोगिताका लागि अहिले सबै पालिकामा खेलाडी छनोटको क्रम थालिएको सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जिल्लाका सबै पालिकाको सहभागिता गराइने अपेक्षासाथ प्रतियोगिताको तालिका बनाएको बताउँदै अध्यक्ष सिंहले भने; ‘यो प्रतियोगिताको माध्यमले भित्री गाउँ/नगर बस्तीमा ओझेलमा परेका खेलाडी उजागर हुनेछन् ।’ सङ्घले चैत २२ देखि शुरु हुने प्रतियोगिताका लागि यही फागुन २० गतेदेखि चैत १० गतेसम्म जिल्लाका पालिकाले सहभागिताको प्रतिबद्धता जनाउँदै टिम दर्ता गर्ने तालिका छुट्याइएको सिंहले स्पष्ट पारे ।

सङ्घले यो प्रतियोगितामा ३२ लाख खर्च हुने जनाएको छ । ‘हामीले उत्कृष्ट टिम र खेलाडीका लागि पुरस्कारको व्यवस्था गरेका छौं; उनले भने । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. एक लाख एक हजार र दोस्रो हुने टिमलाई ५१ हजार तथा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरिजलाई २० हजार, इमर्जिंग प्लेयरलाई १५ हजार, वेस्ट ब्याट्समान र वेस्ट बलरलाई १०/१० हजार र म्यान अफ द म्याच हुने खेलाडीलाई दुई हजार ५०० का दरले प्रत्येक खेलमा प्रदान गरिने अध्यक्ष सिंहले जानकारी दिए ।

जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर रङ्गशालामा आयोजन हुने यो प्रतियोगिताको पोशाक वितरण तथा ट्रफी उद्घाटन चैत १५ गते र खेल तालिका पनि सोही दिन कप्तान, टिम प्रशिक्षक, टिम व्यवस्थापक र प्राविधिक समितिको संयुक्त बैठकबाट टुङ्ग्याइने सङ्घले जनाएको छ । प्रतियोगिता ५० ओभरको प्रणालीमा हुने सङ्घले स्पष्ट पारेको छ । रासस