जाजरकोट – आइतबार अपराह्न ३ः०० बजे छेडागाड नगरपालिका १ का आठ वर्षीयादेखि १५ वर्षीया छात्रा जङ्गलमा हँसिया र नाम्लोसँगै भेटिए । सडककै छेउमा रहेको जङ्गलमा भेटिएका सबै छात्राले कक्षा ३ देखि ९ सम्म कालिका माध्यमिक विद्यालय सोडारीमा पढ्ने विद्यार्थी रहेको बताए । बिहान विद्यालय गएर हत्तपत्त पढाइ सकी उनीहरु घर आएर सिधै जङ्गलमा घाँस–दाउराका लागि आएको कक्षा ६ मा पढ्ने कालिका रानाले बताइन् ।


ADVERTISEMENT


‘घरमा आमा छन्, दाइ र बाबा भारत गएका छन्, आमालाई काममा सघाउनका लागि जङ्गल आएकी हुँ,’ उनले भनिन् । उनीसँगै कक्षा ९ मा पढ्ने छात्रा रविना बुढाले घरमा खाजा समेत नखाई सिधै जङ्गलमा आएको बताइन् । उनले भनिन्, ‘विद्यालयमा पढ्ने चिन्ताभन्दा घरको कामको चिन्ता बढी हुँदा पढाइ बिग्रिएको छ । विद्यालयमा पढाएको कुरा घरमा आएर हेर्नसमेत पाउँदिन, कामको चापले गर्दा हैरान छु ।’


ADVERTISEMENT

# # #


कोरोनाका कारण बल्लतल्ल सञ्चालन भएका विद्यालयका विद्यार्थी घरायसी कामले घरमा पढ्न नपाउँदा पीडा भएको सुनाउँछन् तर त्यसको विकल्प उनीहरुसँग नहुँदा पढ्न नपाएको घाउ जति दुखे पनि सहन बाध्य छन् । ‘विद्यालयमा थोरै पढाइ भएको छ, घरमा पढ्ने वातावरण छैन,’ अर्की छात्रा मेलिना थापाले भनिन्, ‘न घरको काम राम्रोसँग हुन्छ न विद्यालयको पढाइ नै, विद्यालयबाट ल्याएको गृहकार्यसमेत गर्न नपाउँदा परीक्षामा अङ्क राम्रो आउँदैन ।’ घरायसी काममा समय बढी बिताउनुपर्ने बाध्यताका कारण आफूहरुको पढाइ राम्रो हुन नसकेको उनीहरुको भनाइ छ । अभिभावकले समेत छोरीलाई पढाइभन्दा काममा बढी लगाउने गरेको उनीहरुको आरोप छ । घरमा खाना पकाउनेदेखि घाँस–दाउरासम्मको काममा छोरीलाई नै लगाउँदा पढाइ प्रभावित भएको हो ।

छोरासरह छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना विकास नहुँदा छोरी काममा व्यस्त हुनुपर्ने स्थानीयवासी लालुमाया थापाले बताइन् । छेडागाड नगरपालिकाको मात्रै समस्या नभएर जिल्लाभरिकै समस्या यही रहेको महिला अधिकारकर्मी बताउँछन् । छोराछोरीलाई समान व्यवहारको आवश्यकता परेको अधिकारकर्मी धर्मशीला बस्नेतले बताइन् । उनले भनिन्, ‘मुखले बोलेर मात्र हुँदैन, व्यवहारमा समेत समान हुनुपर्छ । छोरीलाई बाध्यताले विद्यालय पठाउने गरिएको छ, अझै पनि घाँस–दाउरामा लगाइन्छ । विद्यालयबाट छोरा आएपछि मिठो खानासँगै घरमा मजाले बस्ने गर्छन्, छोरी घरको काममा लाग्नुपर्ने अवस्था छ ।’

सदरमुकामलगायत केही बजार क्षेत्रबाहेक अन्य गाउँका अधिकांश छात्राको घरायसी कामको बोझले गर्दा पढाइ राम्रो नभएको महिला अधिकारकर्मी बताउँछन् । कसकी छोरीले कति ठूलो घाँस–दाउरा ल्याइन् भन्नेमा होडबाजी हुँदा पढाइ बिग्रिएको उनीहरुको भनाइ छ । कसकी छोरीको पढाइ कति राम्रो भन्ने प्रतिस्पर्धा गर्नुपर्नेमा उल्टो दिशातिर समाज गइरहेको अर्की अधिकारकर्मी पार्वती विकले बताइन् । सामान्य कृषकको घरमा मात्र नभई जनप्रतिनिधि र पढेलेखेकाको घरमा समेत छोरीलाई विभेद भएको विकको भनाइ छ ।

‘छोरा र छोरीको विभेदले गर्भमै छोरीले मृत्यु वरण गर्नुपर्ने पीडा त छँदैछ, खुला संसारमा आइपुग्दासमेत यस्तो विभेदमा छोरीले परिवर्तनको अनुभूति गर्न सकेका छैनन्,’ विकले भन्नुभयो । स्थानीय तहमाथि पनि छात्राहरुको सुरक्षादेखि कुनै खालका सहयोगका कार्यक्रम सञ्चालन नगरेको आरोप लाग्दै आएको छ । रास