डोल्पा – हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् ।


ADVERTISEMENT


उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ । हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न शुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उहाँको भनाइ छ । हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् ।


ADVERTISEMENT

# # #


मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ । हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए । हिमालमा हिउँ नपर्नु, तालतलैया नदीनालाका सतह घट्नु, हिमाल सुक्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाइ छ ।

कृषक उत्साहित

लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए ।

अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुशी हुनुका साथै अन्नबालीका लागि सुविकाल शुरु भएको बताए । जिल्लाभरि नै बिहीबार रातिदेखि शुरु भएको वर्षात्सँगै भएको हिमपातका कारण आलु, गहुँ, जौ, उवालगायत अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय कृषक भीमप्रसाद देवकोटाले बताए ।

“हिँउदमै परेको खडेरीले गर्दा खेतमा लगाइएको गहुँ, जौ आलु सुक्न थालेकाले वर्षभरी कसरी जीविकोपार्जन गर्ने भनेर चिन्तामा थियो, भोकमरी पर्ने होकि भन्ने डर उत्तिकै थियो, तर ढिलै भए पनि वर्षात्सँगै हिमपात भयो”, देवकोटाले भने।

यार्सागुम्बामा वृद्धि

यसपटक परेको वर्षात्सँगै भएको हिमपातले कृषक मात्र नभई यार्सा सङ्कलक पनि उत्साहित भएका छन् । बहमूल्य जडीबुटी यार्सागुम्बाका लागि अत्यधिक चिसो आवश्यकपर्ने भएकाले भारी हिमपात र वर्षात्ले यार्सागुम्बाको परिमाणसँगै गुणस्तरमा समेत वृद्धि हुने स्थानीय सङ्कलकको भनाइ छ ।

जिल्लावासीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको यार्सागुम्बा अघिल्लो वर्ष कोरोना भाइरसका कारण जिल्लाभरी नै सङ्कलनमा प्रतिबन्ध लगाइएको थियो । प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार अन्तिमसँग यार्सागुम्बा सङ्कलन गरिन्छ ।

हवाई सेवा बन्द

हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ । धावनमार्गमा बाग्लो हिउँ जमेका कारण बिहीबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । काठमाडौँ र नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ ।

रोग हट्ने विश्वास

यसपटक वर्षातसँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास गरिएको छ । लामोसमय खडेरी पर्दा बडेको धुलोका कारण रुघाखोकीका बिरामी बढेकाले यो पटकको वर्षात्ले जमीन भिजेर धुलो हटेको स्थानीले बताए ।

तीव्र गतिमा हावा चल्ने गाउँबस्तीमा प्रत्येक दिन धुलो उडेर चारैतिर फैलने गरेरकाले मान्छे बिरामी पर्ने गरे पनि अब बाटाघाटामा धुलो नउड्ने र रोगव्याधि पनि हट्ने उनीहरुको विश्वास छ ।

सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड प्रवेश द्धारमा परेको हिमपात । बिहीबारदेखि हिमपात भइरहेको खप्तडमा करीब दुई फिट हिमपात भएको छ । तस्वीर : विमलबहादुर विष्ट, रासस

पहाडी उच्च भेगमा हिमपात

डोटी–डोटीमा बिहीबार साँझदेखि वर्षात् शुरु भएको छ । वर्षात् शुरु भएसँगै हिउँँदेबाली सप्रिने भन्दै यहाँका किसान निकै खुशी भएका छन् । लामो समयपछि बल्ल माघ अन्तिम सातामा वर्षात् भएका कारण अहिले यहाँका किसान निकै खुशी भएका छन् । पानी नभएका कारण यहाँका लेकाली क्षेत्रमा लगाइएका खेतीपाती पानी नभएका कारण सुक्न थालेका कारण किसान चिन्तित बनेका थिए । अहिले लेकाली क्षेत्रको खेतीपातीका लागि पर्याप्त मात्रमा पुग्ने गरी पानी परी रहेको किसान बताउँछन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गए रातिदेखि हिमपात पनि शुरु भएको छ । बिहीबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी शरद थापाले बताए । उनले भने, “बिहीबार साँझदेखि खप्तडमा वर्षात् र हिमपात शुरु भएको छ, हिमपातले अत्यधिक चिसो बढेको छ ।” खप्तडलगायत यहाँका अन्य उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको खप्तडको झिग्रानामा रहेको घारवासका सञ्चालक दीपकबहादुर खड्काले फोनमार्फत जानकारी दिए । उनका अनुसार झिग्रानामा छ इञ्च तथा खप्तडमा कम्तीमा पनि दुई फिट जती हिउँ परेको छ । स्थानीयवासीका अनुसार अन्य वर्षको तुलनामा यो वर्ष खप्तडमा निकै थोरै हिउँँ र पानी परेको हो ।

हिमपातका कारण गए राति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको खप्तडमा रहेको गुरुगोरख गुल्मले जनाएको छ । यसअघि मङ्सिर र पुस महीनामा दुई पटक खप्तडमा हल्का हिमपात भएको थियो । हिमपात तथा वर्षात्का कारण खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटक तथा जिल्लाका किसान निकै खुशी भएका भिग्रानाका स्थानीयवासी हर्कबहादुर साउदले बताए । उनले भने, “हिमपात भएपछि खप्तड घुम्न आएका पर्यटकलाई हिउँमा रमाउन फाइदा भएको छ, अनि किसानलाई पनि खेतीबालीमा पुग्ने पानी भएका कारण राम्रो भएको छ ।” खप्तड घुम्नका लागि अहिले हेलिकप्टरको पनि व्यवस्था मिलाएका कारण खप्तडलगायत यहाँका अन्य पर्यटकीय क्षेत्र बडिमालीका क्षेत्रमा सयौँ पर्यटक घुम्न आएका आएका छन् । हेलिकप्टरको व्यवस्था गरिएपछि अहिले बडिमालिकामा आठ जना तथा खप्तड निकुञ्जमा कम्तीमा पनि १३९ ले अवलोकन भ्रमण गरिसकेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ ।

हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि भएको हिमपात । हिमपात हुँदा जनजीवनमा सहज नभए पनि गहुँ, जौँ र उवा बाली राम्रो हुने भएकाले यहाँका किसान खुशी भएका छन । तस्बिरः दाने बोहरा/रासस

राजमार्ग अवरुद्ध

बैतडी–बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ । उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो । बैतडीको सिगास, ढोल्यामोड, खोड्पे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्रलगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

यो वर्ष पहिलोपटक हिमपात भएपछि किसान खुशी भएका सिगासका लक्ष्मी शाह चन्दले बताइन् । वर्षा र हिमपात नहँुदा बालीनाली सुक्दै गएको थियो । उनले भनिन्, “लामो समयपछि वर्षासँगै हिमपात भएको छ, किसान खुशी छन् ।” हिमपात र वर्षाले हिउँँदे बाली र फलफूल सप्रिने भन्दै किसान खुशी भएका छन् ।

यसैबीच बाक्लो हिमपातका कारण राजमार्गसमेत अवरुद्ध भएका छन् । दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग अवरुद्ध भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दशरथचन्द राजमार्गको अनारखोली जयपृथ्वी राजमार्गको ढोल्यामोड क्षेत्रमा बाक्लो हिउँँ जमेकाले राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हिमपातले चिसो बढाएकाले जनजीवन पनि प्रभावित बनेको छ ।

जनजीवन प्रभावित

बझाङ–मौसममा बद्ली भएसँगै बझाङका विभिन्न क्षेत्रमा हिमपात भएको छ । जिल्लाको बुङगल नगरपालिका, जयपृथ्वी नगरपालिकाको उच्च भूभाग, छविसपाथीभेरा, तल्कोट, साइपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकालगायत क्षेत्रमा बिहीबार राति हिमपात भएको हो । माघको अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको हो ।

गए रातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको वित्थडचिरका स्थानीय अम्बिका विष्टले बताइन् । हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ । हिमपातले बाहिर निस्कन मुस्किल भएको बुङ्गल नगरपालिका–३ का मानबहादुर धामीले बताए । चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समस्या भएको स्थानीयले बताएका छन् । वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका हुन् । हिमपातले विभिन्न रोगकिरा नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टेकबहादुर विष्टले बताए ।

हिमपातका कारण आंशिकरुपमा टेलिफोन, यातयात र विद्युत् सेवा प्रभावित भएको छ । बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थलीलगायत ठाउँमा बाक्लो हिमपात भएका कारण बझाङ भित्रने सावरी साधनलाई सकस भएको छ । बादलले सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिकरुपमा प्रभावित भएको छ । बिहीबार रातिदेखि बझाङमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बझाङले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

सम्पर्कविच्छेद

म्याग्दी–पाँच महीनापछिको वर्षासँगै हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा आज बिहानदेखि हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिकाको गुर्जा र अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा हिउँँ पर्न थालेको हो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजाले बिहानदेखि परेको हिउँँ जम्न थालेको बताए ।

“गत असोज दोस्रो हप्तापछि बल्ल अहिले वर्षा र हिउँँ परेको हो”, उनले भने, “यो वर्ष पहिलो पटक परेको हिउँँले डाँडाकाँडा सेताम्मे भएको छ ।” चिसोले धाराको पानी जम्न थालेको छ । गुर्जामा पनि हिउँँ परेपछि सञ्चार सम्पर्कविच्छेद भएको छ । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले चिसो बढेको र सर्वसाधारणले घरभित्रै बसेका बताए । गाउँपालिकाको केन्द्र मुनादेखि लुलाङ हुँदै गुर्जा जाने पैदलमार्ग पनि बाटोमा हिउँँ जमेर अवरुद्ध भएको छ ।

सुक्खा र खडेरीले गहुँ, जौ, तोरी, आलुलगायत हिउँँदे बाली प्रभावित भएको थियो । धौलागिरि गाउँपालिका–७ काफलडाँडाका रेशम शर्माले करिब पाँच महीनापछि भएको वर्षाले कृषकलाई राहत मिलेको बताए । “खेतबारीमा लगाएको हिउँँदेबाली सुक्न थालेका थिए”, उनले भने, “वर्षाले आकाशे पानीको भरमा खेती गर्ने सिँचाइ सुविधा नभएका ठाउँका कृषक खुशी भएका छन् ।” आकाशे पानी र हिउँँले जमीन चिसो बनाउने, मल भिजेर बिरुवाका लागि आवश्यकतत्व आपूर्ति हुने र उत्पादन बढ्न सहयोग पुग्ने कृषक बताउँछन् ।

यसैगरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले जाडोको जोखिममा रहेका नागरिकलाई घरघरमै पुगेर न्यानो कपडा वितरण गरेको छ । गृह मन्त्रालयको कार्यक्रमअनुसार म्याग्दीमा पनि प्रशासनका कर्मचारीले जोखिममा रहेका नागरिकको घरघरमा पुगेर न्यानो कपडा वितरण गरेका हुन् ।

प्रहरी एकाइमार्फत चिसोको जोखिममा रहेका १८० विपन्न, असाहय र अशक्त नागरिक पहिचान गरेर न्यानो कपडा उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । “जाडोयाममा चिसोका कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर गृह मन्त्रालयले न्यानो कपडा वितरण गर्ने कार्यक्रम ल्याएको हो”, उनले भने, “प्रतिव्यक्ति एक-एक वटा ब्ल्याङ्केट, ज्याकेट र टोपी उपलब्ध गराइएको छ ।” रासस