हुम्ला– नेपाल पत्रकार महासङ्घको पाँचौँ साधारणसभा मङ्गलबार सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन र सामानुपातिक उपाध्यक्ष मिमसिंह नेपालीको उपस्थितमा संघको पाँचौ साधारण सभा सम्पन्न भएको हो ।
जयबहादुर रोकायाले स्थापना गरेको सो कार्यक्रम शाखाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीका अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको सो अवसरमा बोल्दै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पत्रकारले सहि रूपमा कलम चलाउन नसके झन् विकृति मौलाउने बताएका छन् । कसैको पनि पक्षमा नभई सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनु पर्नेमा जोड दिदै उनले भने; ‘समाजमा ऐनाजस्तो पारदर्शी भएर रहन सक्नुपर्छ ।’
यसैगरि, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पनि समाज परिवर्तनका संवाहक पत्रकार भएका कारण जिम्मेवारीअनुसार कलम चलाउनुपर्नेमा जोड दिएका छन् । महासङ्घ सचिव पुनले पत्रकार आफ्नो पेशाप्रति लगाव र समाजप्रति उत्तरदायी हुनुका साथै कलमप्रति इमान्दर हुनुपर्ने बताए ।
सभामा वरिष्ठ उपाध्यक्ष शाहीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभाले आफ्नो भवन निर्माणका लागि जग्गा खरिदको पहल गर्ने निर्णय रहेको जनाएको छ। रासस