पर्वत– नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा गाउँपालिका ५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु. १० लाख र मोदी गाउँपालिकाको रु. २ लाख गरी रु १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो ।


ADVERTISEMENT


स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुङ्गावासीका लागि करिब दुई महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । विगतका समयमा खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुङ्गाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेपानीका धारा सञ्चालनमा आएका छन् ।


ADVERTISEMENT

# # #


खोलाबाट पाइपमा पानी ल्याएर गाउँमा दुईवटा मात्रै धारा सञ्चालनमा ल्याइएको र सोही पानीलाई सबै परिवारले उपभोग गर्दै आएकामा नेपाली सेनाले आयोजना सञ्चालनमा ल्याएपछि स्थानीयवासीलाई राहतको महसुस भएको स्थानीयवासी कृष्णबहादुर क्षेत्रीले बताए ।

कार्यक्रममा खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतना हेडक्र्वाटरका पृतनापति विनयविक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्तरूपमा शुभारम्भ गरेका थिए । कार्यक्रममा पृतनापति राणाले नेपाली सेना सदैव जनताको साथमा रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा समाजमा प्रभाव पार्ने काम सेनाले सञ्चालन गर्दै आएको स्पष्ट पारे ।

मोदी गाउँपालिका पर्वतका अध्यक्ष प्रेम पौडेलले नेपाली सेनाको सामाजिक सेवा भावप्रतिको जागरुकताको कदर गर्दै साँच्चिकै समस्यामा परेका नागरिकलाई सेनाले सदैव सहयोगी भाव दर्शाउनसमेत अनुरोध गरेका थिए । अर्का प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पनि नेपाली सेनाले गरेको कार्य सरहानीय रहेको भन्दै उक्त योगदानको प्रशंसा गरेका छन् ।

उक्त आयोजनाबाट मोदी गाउँपालिका–५ बाजुङ ओखलढुङ्गा गाउँका २२ परिवारसहित एक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुने भएका छन् । समुदायको मागबमोजिम नेपाली सेना र समुदायको सक्रियतासँगै मोदी गाउँपालिकाको समन्वयमा खानेपानी आयोजना समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको केवलजङ्ग गुल्म पर्वतका गुल्मपति रमेश थापाले बताए। रासस