जाजरकोट – नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका ९ स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी, सोही ठाउँका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट १ रामीडाँडा निवासी ४० वर्र्षीय हरिचन्द्र बस्नेत र सोही ठाउँका ३३ वर्षीय मानबहादुर महतारा रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । पक्राउ परेकाहरुबाट रु चार लाख रकम र कागजपत्रसमेत फेला पारेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


बारेकोट गाउँपालिका, नलगाड नगरपालिकाले ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएको थियो । पालिकाको अनमुतिअनुसार वडाध्यक्षहरुले नै अतिविपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य ऊर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने जनाउँदै प्रत्येक घरधुरीबाट रु तीन हजार ७५० सङ्कलन गरेका थिए । सोलार र चुलोको मूल्य रु २५ हजार पर्ने भए पनि रु २१ हजार २५० वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ग्रामीण विकास तथा क्लिन इन्भरमेन्टले व्यहोर्ने भन्दै उनीहरुले झुक्याएका बताइएको छ । उनीहरुले नगद बुझेको रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए ।

एउटै वडाबाट रु छ लाखसम्म सङ्कलन भइसकेको स्थानीयवासीको भनाइ छ । नलगाडका १३ वटै वडाबाट र बारेकोटका अधिकांश वडाबाट सङ्कलन गरिएको रकम वडाध्यक्षमार्फत उक्त संस्थालाई बैंकमार्फत पठाउने फाराम भरेको ४५ दिनभित्र सामान उपलब्ध गराउने उल्लेख गरिएको थियो । भरपाईलगायतका कुरामा समेत शङ्कास्पद देखिएपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको हो । नगरपालिकाले समेत संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकाले आफूहरु ठगीमा परेको स्थानीयवासीको भनाइ छ । रासस