काठमाडौँ– नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्ने भएका हुन् ।


ADVERTISEMENT


बिहीबार कीर्तिपुर खेल मैदानमा आर्मीले वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । पाँच रन छँदा दुई विकेट गुमाएको आर्मी पक्षबाट हरि चौहान तीन रनमा ररोहितकुमार पौडेल बिनारन पेभेलियन फर्केका थिए ।


ADVERTISEMENT

# # #


त्यसपश्चात्, अर्का खेलाडि अनिल मण्डल पनि दुई रनमा पेभेलियन फर्केका थिए। १७ रनमा तीन विकेट गुमाएको आर्मीका पक्षबाट चौथो विकेटका लागि भने भीम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे । जसमा बमले २३ तथा सार्कीले ४० रन बनाएका थिए । यस्तै, सो खेलमा कप्तान विनोद भण्डारीले १०, राजेश पुलामीले ६५, विक्रम शोबले ३५ तथा सुसन भारीले १६ रनको योगदान दिएका थिए । बलिङतर्फ भने वाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिए ।

दुई सय ३० रनको विजयी लक्ष्य पछ्याएको वाग्मतीले ४० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १ सय ३५ रन मात्र बनाउन सफल भएको छ । वाग्मतीले १८ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले भने ५८ रनको साझेदारी निभाएका छन् । यस्तै, आचार्यले २३ तथा मल्लले ४७ रन बनाए। बलिङतर्फ भने, आर्मीका जितेन्द्र मुखियाले चार तथा विक्रम शोब र सुसन भारीले तीन–तीन विकेट लिएका छन् ।

आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उपाधि विजेतालाई रु. १० लाख तथा उपविजेतालाई रु पाँच लाख पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ। रासस