काठमाडौंँ– विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल ‘भानु माध्यमिक विद्यालय’ को कक्षाकोठाको सिट क्षमता वृद्धि गरेको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछिविद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थीका लागि सिटको क्षमता अभिवृद्धि गरेको हो ।


ADVERTISEMENT


भुकम्पपछिको पुनःनिर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा थप ६ विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । उक्त क्षमतावृद्धि पछि हाल प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यो विद्यालयको भवन विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण गरिएसँगै नयाँ विद्यार्थी आउने क्रम बढेको हो ।


ADVERTISEMENT

# # #


अहिले भानु माविको कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी कोटा सङ्ख्या पुगेको छ । कामपा–२७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । भवन निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३ सय १२ विद्यार्थी पठनपाठन गर्ने गरेका छन् ।

विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० मात्र विद्यार्थी रहेका थिए । अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थी आउने गरेको बताउँदै बज्राचार्यले भने; ‘यसरी नै आकर्षण बढ्ने हो, भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षा भरिनेछन् ।’ भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप भने पहिलाकै जस्तो रहेको छ । नौ रोपनी जग्गामा निर्माण गरिएको विद्यालय भवन चारतले छ । जसमा ६० कक्षाकोठा छन् ।

नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको विद्यालय एक ऐतिहासिक विद्यालय पनि हो । विद्यालय भवनको उक्त हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालित छन् । नयाँ भवनमा प्रयोशालासमेतको सुविधा र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।

शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्शापासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माण कामको थालनी भएको थियोे । भवनमा विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठककक्षसमेत व्यवस्थितरूपले निर्माण गरिएको छ । रु. ८५ करोड ५९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कूलको कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी पुनःनिर्माणसँगै विद्यालय भवनको पनि उद्घाटन भएपछि मात्रै विद्यालय पुनः सञ्चालनमा आएको हो । तर, कोरोना महामारीका कारण हालसम्म भौतिकरूपमा पठनपाठन भने हुनसकेको छैन । नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कूल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो ।

तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले विद्यालयको नाम दरबार हाइस्कूल रहन गएको हो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो पटक औपचारिक ‘दरबार हाइस्कूल’ को स्थापना गरेका थिए । राजा–महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको यो हाइस्कूलमा अङ्ग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ ।

विसं १९३३ मा रणोद्दीप सिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको थियो । यस्तै, विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशम्शेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोका नजिक सारेका थिए । त्यसपश्चात्, भने विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि मात्रै दरबार स्कूलमा सर्वसाधारण जनताले पनि पढ्न पाउने व्यवस्था लागू भएको थियो । रासस