महोत्तरी– हाल देशभर कोभिड१९ विरुद्धको खोप लगाउने कार्यक्रम धमाधम सञ्चालन भइरहेको छ । गत सातामात्रै भारतको अनुदानमा भित्रिएको ‘कोभिशिल्ड’ प्रत्येक जिल्लामा पठाएसंगै एकैदिन देशभर खोप अभियानको कार्यक्रम सञ्चालन भएको थियो । तर, महोत्तरीमा भने खोप लगाउने कार्य सुस्त देखिएको छ ।


ADVERTISEMENT


फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा यहाँ २ सय ९९ जनाले मात्र लगाएका छन् । कोभिड–१९ विरुद्धको खोपको सम्बन्धमा भएको भ्रमका कारण यहाँको खोप अभियान कार्यक्रममा सुस्तता आएको हो ।


ADVERTISEMENT

# # #


पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २ सय ६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

पहिलो दिन १ सय ३५ जनालाई खोप दिने लक्ष्य रहेता पनि ३८ जनाले मात्र यो सेवा लिएको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ नियन्त्रण अभियानका स्रोत एवम् जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताएका छन् । ‘कतिपयमा खोपबारे रहेको भ्रमले प्रारम्भिक चरणमा सेवा लिने कम देखिएका हुन्; उनले भने । यद्यपि यो भ्रम चिरिँदै जाने र केही दिनभित्रै सेवाबारे विश्वसनीयता बढ्ने झाको विश्वास रहेको छ । दोस्रो दिमा यहाँका अन्य २ सय ६१ जनाले खोप लिएको कार्यालयले जनाएको छ ।

एक साताभित्र दुई हजार २ सय ३० जनालाई खोप दिइने कार्यालयको लक्ष्य रहेको छ । सामाजिक सञ्जालमा खोपबारे विभिन्न भ्रामक सुचना देखेपछि शुरुका दिनमा डरले खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ । अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयका प्रमुखसहित आफूहरु सबैले देख्ने गरी खोप लगाएका कारण पनि यसप्रतिको विश्वसनीयता बढ्न सक्ने बताउँदै झाले भने; ‘अब भ्रम हट्दै जान्छ र सेवा लिनेको सङ्ख्या बढ्छ ।’

अन्य जिल्लामा जस्तै महोत्तरीमा पनि ‘कोभिशिल्ड’ को पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शववाहन र एम्बुलेन्स चालक, सुरक्षाकर्मी र अग्रपङ्तिमा रहेर काममा लाग्नुपर्ने सामाजिक अभियानकर्मीलाई प्राथमिकता दिइएको छ । पहिलो दिन जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा. प्रभातकुमार गामीले वरिष्ठ स्वास्थ्यकर्मी (अनमी) कला चौधरीबाट खोप लिएर यो सेवाको प्रारम्भ गरेका थिए ।

जलेश्वर अस्पतालकक्षमै सञ्चालन गरिएको यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा पु¥याइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । हाल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयमा कार्यरतले धमाधम खोप लिइरहेका खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिए ।

जिल्लामा पहिलो चरणमा २ सय ४३ डोज खोप आएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । प्रत्येक भाइलमा १० जनालाई खोप लगाउन मिल्ने र कूल दुई हजार २ सय ३० जनालाई पहिलो चरणमा यो सेवा दिइने खोप अधिकृत झाले बताएका छन् ।

पहिलोपटक खोप लिएकाहरुले चार सातापछि अर्को खोप लिनेछन् । थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिँदै जाने जानकारी कार्यालयको रहेको छ । रासस