झापा– पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर पिडितले उपचारका लागि अब रु. १ लाखसम्मको निःशुल्क सेवा पाउने भएका छन् । विर्तामोडस्थितको पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न परिवारका क्यान्सरपीडितका लागि रु. एक लाखसम्मको उपचार सेवा निःशुल्क सेवा सुचारु गरेसंगै उनीहरुले सो सेवा पाउने भएका हुन्।


ADVERTISEMENT


नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेको जनाएको छ । गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ गतेदेखि अस्पतालले सो सेवा सञ्चालन गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले बताए। विपन्न परिवारका बिरामीले खर्च अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकारसँग सम्झौता गरी विपन्न नागरिक औषधोपचार कोषमार्फत सो सेवा सञ्चालनमा ल्याएको उनको भनाइ रहेको छ ।


ADVERTISEMENT

# # #


सम्बन्धित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य प्रमुखले हस्ताक्षर गरेको विपन्नताको सिफारिसका आधारमा सेवा उपलब्ध हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल निर्देशक डा. वीरेन्द्र यादवले जानकारी दिए । मुलुककै अत्याधुनिक सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडले सरकारी बीमाजस्तै विपन्न नागरिक उपचार कोषमार्फत रु. एक लाखसम्मको उपचार सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकारले यसअघि चितवनको बिपी कोइराला क्यान्सर अस्पतालमार्फत रु. एक लाखको उपचारमा सहयोग सेवा दिँदै आएको थियो । सोहि किसिमको सरकारी सहयोग अब पूर्वाञ्चल क्यान्सर अस्पतालका बिरामीले पनि पाउने भएका छन् । हालसम्म अस्पतालबाट १ सय ४० बिरामीले यो सुविधाका लागि सिफारिस लिइसकेको बताइएको छ । त्यस्तै, २७ हजार ८ सय बिरामीले ओपिडीमार्फत सेवा लिइसकेको डा. यादवले बताए । उनका अनुसार, क्यान्सर अस्पतालले यो सेवा शुरु गरेयता हालसम्ममा ३ सय जनाको शल्यक्रिया भइसकेको छ ।

राम्रो उपकरण, अत्याधुनिक सुविधाका साथै रु. एक लाख सहयोग पाउने आशाका कारण पनि अस्पतालमा सेवा लिनका निम्ति बिरामीहरु लामो दूरी तय गर्दै भरतपुरसम्म धाउने गरेको उनको अभिव्यक्ति रहेको छ । पछिल्लो पटक सोहि सुुविधाकै लागि भएपनि अस्पतालमा बिरामीको चाप बढ्न थालिसकेको छ ।

क्यान्सरका बिरामीलाई आवश्यक पर्ने सबै उपचार अन्र्तगत विपन्न नागरिक औषधोपचार कोषको सुविधा लागू हुने बताइएको छ । सेवा प्राप्तका निम्ति अस्पतालले बिरामीका लागि सर्वप्रथम अस्पतालमा क्यान्सरको डाइग्नोसिस गराएको हुनुपर्ने र त्यही कागजको आधारमा आफ्नो स्थानीय तहमा गएर विपन्नताको सिफारिस ल्याउनुपर्ने नियम राखेको छ । यसका साथै यो सुविधाका लागि बिरामीलाई क्यान्सर लागेको पुष्टि हुने बायोप्सी रिपोर्ट समेत अनिवार्य गरिएको छ ।
रासस