दोलखा– भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे । पर्यटकको चहलपहल हुने चरीकोटमा घुम्न जान उनलाई फोन गरेर बोलाउने गर्थे । तर, हाल उनी त्यो पेशामा देखिदैनन् ।


ADVERTISEMENT


गाडी भाडामा चाहियो भनेर फोन गर्नेहरु अहिले दूध चाहियो भन्न थालेका छन् । चरीकोटका आफ्नो पुराना सबै व्यवसाय छाडेका सुवेदी अचेल भीमेश्वर नगरपालिका–५ मथानीमा सात भैँसी पाल्न थालेका छन् । अन्य पेशाभन्दा भैँसीपालनबाट उनले राम्रो आम्दानी पनि गरेका छन् । जग्गा लिएर भैँसी फार्म निर्माण गरेका उनले दैनिक ७० देखि ८० लिटरसम्म दूध सङ्कलन गर्छन् । संकलित सो दुध पुर्याउन सुवेदी बिहान आफैँ मोटरसाइकलमा चरीकोटका पसलहरु धाउँछन्।


ADVERTISEMENT

# # #


बजारमा डेरीको भन्दा भैँसीको दूधको माग धेरै छ । बजारमा नै लगेर ८० रुपैयाँमा एक हर्लिक्स दूध बेच्न गरेको उनले बताए । दूध कारोबारबाट मात्रै अहिले उनी मासिक रु एक लाख ५० हजारसम्म आम्दानी गर्छन् । त्यसमध्ये खर्च कटौती गरेर मासिक ६० देखि ७० हजारसम्म फाइदा हुने उनको कथन छ ।

फार्ममा हाल मुर्रा र लाहुरे जातका भैँसी छन् । तीन जनालाई रोजगारीसमेत दिएका सुवेदीले मथानी कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै सञ्चालनको तयारी गरेका छन् ।

फार्म विस्तार गरी ३१ वटासम्म भैँसी सहजै पाल्न सकिने बनाइएको छ । करीब २० वटा भैँसी दुहुनो राख्ने योजना सुवेदीको छ । हालसम्म करीब ५० लाख लगानी गरिसकेको र भैँसीपालनका साथै अर्गानिक तरकारी खेतीको समेत तयारी गरिएको सुवेदीले बताए। रासस