कञ्चनपुर– ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुदैँ गएराति विस्थापित परिवारको शिविरमा छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काई दिएको हो । पचास भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले झुपडी भत्काउन थालेपछि स्थानीय बासिन्दा भागेर ज्यान जोगाएका छन् । हात्तीको यस आतंकका कारण विस्थापित परिवार शिविर बिचल्लीमा परेका छन् ।


ADVERTISEMENT


राति खाना खाएर सुत्ने तरखर गर्दै गर्दा हात्तीले उपद्रो मचाउन थालेको बताउँदै आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरा सिंह भण्डारीले भने, ‘हात्तीको बथान शिविरमा छिरेर उपद्र मच्चाउन थालेपछि बालबालिका बोकेर सुरक्षित स्थानमा पुगेर ज्यान जोगायौं ।’ झुपडीभित्र रहेको अन्न, ओढ्ने ओछ्याउने र लगाउने कपडासँगै खाना पकाउने भाडाँकुडा समेत हात्तीको बथानले कामै नलाग्ने गरी नोक्सान भएको उनले बताए ।


ADVERTISEMENT

# # #


हात्तीको अवरोधका कारण साँझ ६ बजे नै शिविर नजिकैको क्षेत्रमा सवारीका ठप्प भएको थियो । त्यसबेला स्थानियले पटाका पड्काएर हो–हल्ला गरी भगाए पनि हात्तीले पुनःराति शिविरमै पुगेर झुपडी नै भत्काएर चिसो मौसममा बेहाल बनाएको शिवराज भारतीले बताए ।

सो बथानले शिविरका बासिन्दाले लगाएको गहुँबालीमा समेत ठुलो नोक्सान पुगेको छ । मजदूरी गरी झुपडीमा राखेको अन्नपात, लत्ताकपडा सबैमा हात्तीको बथानले नोक्सानी गरेपछि रातभर बालबालिकासहित एकसरो लुगामै रुखमुनि ओत लागेर आगो तापेर ज्यान जोगाएको शिविरका बासिन्दाले गुनासो गरे । दुखेसो पोख्दै शिविरका बासिन्दा जङ्गबहादुर खत्रीले भने ‘वर्षौदेखि पुनः स्थापनको माग गर्दै आए पनि पुनःस्थापन नहुँदाको पीडा त छदै थियो, त्यसमाथि जङ्गली हात्तीको पीडासमेत खेप्न बाध्य छौं ।’

विसंं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ती परिवारलाई हटाइएको थियो । आरक्षबाट विस्थापनमा परेका परिवार ढक्का, तारापुरलगायतका क्षेत्रमा शिविर बनाइ बस्दै आएका छन् । रासस