वैजयन्ती शर्मा, काठमाडौँ – चन्द्र ढकाल नेपाली उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व सम्हाल्दैछन् । शनिवार महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकाल शेखर गोल्छाको नेतृत्वमा महासंघमा काम गर्नेछन् । त्यसपछि महासंघकै विधानअनुसार २० औँ नेतृत्व उनको पोल्टामा पर्नेछ ।


ADVERTISEMENT


घाँस दाउरा गर्दै हुर्किएका ढकालले निजी क्षेत्रको नेतृत्वदायी भूमिकासम्म पुग्न लामो कसरत गरेका छन्, थुप्रै हण्डर खाएका छन् । १६ वर्षको उमेरमै बुवाको निधन भएपछि जेठो छोरो भएकाले परिवारको जिम्मेवारी उनको काँधमा पर्‍यो । बुवाको निधनले मर्माहत निजी क्षेत्रको ‘स्टार’का रुपमा उदाएका ढकाललाई अँग्रेजीमा ‘स्टार’ लागेपछि उनी उतिबेलाको ‘आइरन गेट’ मानिने एसएलसीमा अनुत्तीर्ण हुनुपर्‍यो । यद्यपि, व्यवसायमा भने उनी कहिल्यै अनुत्तीर्ण हुनु परेन ।


ADVERTISEMENT

# # #


बागलुङको अमलाचौरमा घाँस, दाउरा, डोकोसँगै खेल्दै हुर्किएका उनी पहिलोपटक काठमाडौँ पढ्न भनेर आएका थिए । मैपीमा उनका काकाको घर थियो, गोजीमा चानचुन ३५ रुपैयाँ बोकेर उनी पढ्नका लागि काठमाडौँ आए । मैपीमै बसेर उनले कलेज शुरु गरे । कलेज पढ्दै पेप्सिकोका वितरक कम्पनी स्वस्तिक हेरिटेजमा सानो जागिर पनि खाए ।

प्लस टूपछि उनले २०४५ सालमा वाणिज्य बैंकमा सहायक लेखापाल तहमा नाम निकाले । सरकारी जागिरेका रुपमा त्यतिबेला काम गरिरहँदा उनलाई ठूलो व्यवसायी बन्छु भन्ने लागेको थिएन । उनी भन्छन्, ‘सामान्य जीवन गुजार्ने, आमा र भाइबहिनीलाई दुःखबाट उकास्नेबाहेक कुनै उद्देश्य थिएन।’ भाइबहिनीलाई कसरी पढाउने, घरको गुजारा कसरी चलाउने भन्ने तनाब उनलाई थियो । उमेर बढ्दै जाँदा जिम्मेवारी पनि थपिँदै गएपछि उनले २०४८ सालमा जागिर खाँदाखाँदै कोल्डस्टोर, कार्गो व्यवसायहरु चलाए । व्यवसायलाई अघि बढाउन आफू कार्यरत बैँकमै ऋणका लागि आवेदन दिएपनि ऋण नपाएपछि उनले बैँकमा राजीनामा दिएर आफ्नै व्यवसायमा मात्र काम गर्ने सोच बनाए ।

कार्गो र ट्राभल कम्पनी चलाउँदा चलाउँदै बीचमा उनी वैदेशिक रोजगारीका लागि जापान उडे र दस महीना उतै व्यतित गरे । विदेशमा वित्तीय क्षेत्रमा भइरहेको विकासलाई नजीकबाट देखिसकेपछि वित्तीय क्षेत्रमा राम्रो सम्भावना देखेर उनले आईएमई ग्रुपमार्फत क्षेत्रीय स्तरको ग्लोबल आइएमई बैंक स्थापना गरी उनी बैंक मालिकको देखा परे ।

व्यवसायीक यात्रामा सफलता हाँसिल गर्दै गरेका उनी १२ वर्ष अघि उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन उद्योग वाािणज्य महासंघमा आवद्ध भए । तीन कार्यकाल महासंघमा काम गरिसकेपछि ढकाल वरिष्ठ उपाध्यक्षका लागि लडेका थिए ।

त्रिभूवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गरेका ढकालको अहिले आई एम ई अटोमोटिभ्स प्राइभेट लिमिटेड, ग्लोबल आई एम ई ब्याङ्क लिमिटेड, इलाईट क्यापिटल लिमिटेड, वर्ल्डवाइड इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड, हिमालयन पावर पार्टनर प्राइभेट लिमिटेड, माउन्टेन इनर्जी नेपाल प्राइभेट लिमिटेड, आई एम ई अक्सिजन प्राइभेट लिमिटेड, इन्टरनेसनल मनी एक्स्प्रेस, सि एम ट्रेडिङ, अक्रस ट्राभल्स एण्ड टुर्स प्राइभेट लिमिटेड र चन्द्रागिरि हिल्स लगायतका दर्जन बढी क्षेत्रमा व्यवसायीक संलग्नता रहेको छ ।

अटोमोबाइल, र वित्तीय संस्था, उर्जा, बिप्रेषण, पस्मिनाजन्य उत्पादनको निर्यात, पर्यटन जस्ता विविध क्षेत्रमा लगानी गरेका ढकालले अब आफ्नो लगानी बढाउने तयारीमा छन् । उनी भन्छन्, ‘उत्पादनमूलक क्षेत्रमा लगानी गरेर विश्व बजारमा प्रतिस्पर्धा गर्नेगरी महासंघअन्तर्गत रहेर काम गर्ने योजना बनाएको छु।’