काठमाडौँ– गृहमन्त्री जनार्दन शर्माले आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले निर्वाचनका लागि आवश्यक बन्दोबस्त पूरा भएको र मतदाताको समेत सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनले २ नं प्रदेशका आम मतदाता मत हाल्नका लागि उत्साहित रहेको बताउँदै सरकारले सबै मतदान केन्द्रमा शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेको जानकारी गराए ।

गृहमन्त्रालयले निर्वाचन सुरक्षाका लागि केन्द्रीय सुरक्षा नीतिअनुसार नै जिल्लास्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको, जसअनुसार पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई परिचालन गरिएको उनको भनाइ थियो ।

निर्वाचनको मौन अवधि शुरु भइसकेकाले अहिले सबैखाले निर्वाचन प्रचारप्रसार कार्य बन्द भएको बताउँदै स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि आगामी प्रदेश र प्रतिनिधिसभाको दुईवटा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने विश्वास पनि उनले व्यक्त गरे । रासस